स्थानीय सरकारको मर्म नबुझेपछि समस्या

सम्पादकीय
२०७४ सालमा भएको स्थानीय निर्बाचनपछि स्थानीय सरकार भनेर प्रचार गरियो तर विकास बजेट न्यून राखियो । बजेटको आकार ठूलो देखिएपनि करिब ६० प्रतिशत बजेट चालू खर्च हुने गर्छ । स्थानीय सरकार भन्यौ तर स्थानीय सरकारको मर्म बुझ्ने प्रयास गरेनौं । संघिय सरकार ,प्रदेश सरकारले ठूला योजना बनाउने भएपनि स्थानीय सरकारले ठूला योजना बनाउन सक्ने कुरा भएन । संघ र प्रदेश सरकारसंग मिलेर योजना बनाएको भए ठूला योजना आउने थिए । नेता बलिया भएका ठाउँमा ठूला योजना गए तर पहुँच नभएका ठाउँमा आवश्यक बजेट गएन । पहुँचका भरमा बजेट हाल्ने प्रबृत्तिले जहाँ बजेट आवश्यक छ त्यहाँ परेन जहाँ आवश्यक छैन त्यहाँ बजेट प¥यो । त्यसैले देशभर भ्यूटावर निर्माण भए । भ्यूटावरका नाममा देशैभरी भ्रष्टाचार भएको छ । यस्तो खालको बिकृति गणतन्त्रमा भोग्नु प¥यो । स्थानीय तहका प्रमुखले सरकार प्रमुख ठान्दै मनपरी निर्णय गर्दै आए तर स्थानीय राजनीतिक दल र समाजका अगुवासंग विकासका सवालमा छलफल चलाउन आवश्यक ठानेनन् । जनताबाट निर्बाचित भएपछि सबै कुरा जान्ने म आफै छु भन्ने अधिकांसमा भुत  चढ्यो । जनताको सवालमा काम गर्नुभन्दा बढी बिचौलीयालाई समय दिने काम  भयो । यतिखेर हरेक स्थानीय तहमा नागरिकको गुनासो छ । सुचनाको हकलाई बुझेको अवस्था छैन । नागरिकले सुचनाको हक प्रयोग गरेर सुचना मागे दुश्मन ठान्छन् । पारदर्शीता कही देख्न पाइदैन । जे गरेपनि जनताले अधिकार दिएका छन् मैले नै निर्णय गर्ने हो भन्दै मनपरी निर्णय गर्ने काम भयो । स्थानीय सरकारको भावना बुझेर काम गरेको भए अहिलेको संबिधानले धेरै व्यबस्था गरेको थियो । भएको अधिकारलाई सदुपयोग गर्नुभन्दा दुरुपयोग गर्ने काम भएको छ । स्थानीय तहको मर्म भनेको स्थानीय स्तरमा मिलेर आफ्नो विकास आफै गर्नु हो । आफ्नो विकास आफै गर्न सबै नमिलेर सुखै छैन । आएको विकास मैले गरे भन्ने तर प्रदेश र संघका माननीयि संग समन्वय गरेको पाइदैन । स्थानीय सरकारको सुख सुबिधामा मस्त जनप्रतिनीधिहरु कै कारण स्थानीय सरकार बद्नाम भए । प्रदेश र संघ सरकारसंग समन्वय गर्नका लागि आफ्नो खाका प्रष्ट हुनुपर्ने हो तर कहिले एउटा विषयमा बजेट मागेको छ कहिले अर्काे बिषयमा । यसरी स्थानीय तहका जन प्रतिनीधिले स्थानीय सरकारको मर्म नबुझेर दुई कार्यकाल सकिन थाल्यो । गाडी र भ्रमणको व्यापक दुरुपयोग भयो भने अनुत्पादक लगानीमा बजेट सक्ने काम भयो । तसर्थ जनताले पनि जनप्रतिनीधि छान्दा ध्यान दिनुपर्छ । मेरो मान्छेलाई जिताउने का नाममा गलत मान्छेलाई जनप्रतिनीधि बनाउँदा देशभर समस्या आयो । जेनजी सडकमा आउनुको कारण स्थानीय सरकारको रबैया पनि एक हो । जनता पनि सच्चिन जरुरी छ ।