टीकापुर, २० फागुन/टीकापुर नगरपालिका वडा नं। १ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले १५० जना जेष्ठ नागरिकलाई न्यायो लुगा दोसल्ला र छाता वितरण गरेको हो ।
वडाले ७३ वर्षदेखि ७४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडा कार्यालय ले हरेक वर्ष जेष्ठ नागरिकलाई सम्मान लगायतका कार्य गर्दै आएको छ । जेष्ठ नागकिलाई सम्मान गर्दै नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिका जेष्ठ नागरिकमा भएका सीप, ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न जेष्ठ नागरिक मिलन केन्द्र मार्फत काम गर्ने योजनामा रहेको बताउनुभयो ।
‘‘जेष्ठ नागरिकमा भएको क्षमता र ज्ञानलाई लिने योजनामा छौँ, हामीले थोरै बजेट भए पनि जेष्ठ नागरिकका हीतमा काम गर्न थालेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘जेष्ठ नागरिकलाई हरेक घरमा, समुदायमा सम्मान होस् भन्ने सरकारको चाहना छ । त्यही स्थापित गर्न काम गर्न खोजि रहेका छौँ । ’’
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दमनसिँह चौधरीले जेष्ठ नागरिकलाई हेला गर्छन भन्ने सोचाइ आउने गरेको बताउँदै त्यस्तो नसोच्न आग्रह गर्नुभयो । ‘‘बुढेसकालमा त्यस्तो सोच्न हुन्न, जेष्ठ नागरिकहरु सम्मानको पात्र हुनुहुन्छ’’, चौधरीले भन्नुभयो, ‘‘जेष्ठ नागरिकसँग ज्ञान छ । धेरै अनुभव बटुलेका उहाँहरुलाई सबैको सम्मान छ । टीकापुर नगरपालिकाले यहाहरुलाई अभाव भएर होइन मानसम्मान गरेको हो । ’’
प्रमुख प्रशासकीय अधिकृत चौधरीले भन्नुभयो, ‘‘कर्म गरिसक्नु भयो, ज्ञान पाइसक्नु भयो अब भक्ति मार्गमा लाग्नुस्, त्यसले सुख दिन्छ । योग ध्यानले निरोगी रहन सहयोग मिल्छ ।’’
कार्यक्रममा वडाध्यक्ष मोहन सिंह लुहारले जेष्ठ नागरिकलाई वडा कार्यालयले सोचेजति दिन नसके पनि सम्मान गरिएको बताउनुभयो । उहाँले साना हुँदा बालबच्चालाई घामपानीबाट जोगाएका, शितलता दिएका अभिभावकलाई वडाले पनि शितलता दिन छाताजस्ता आवश्यक सामान सहयोग गरेको बताउनुभयो ।
वडा कार्यालयको १ लाख ५० हजार कार्यक्रममा सामग्री वितरण र सामाजिक सुरक्षा भत्ता लाई व्यवस्थित गर्न अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा जेष्ठ नागरिक मोहन शर्माले नगरपालिकाले जेष्ठ नागरिकलाई सम्झेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मोहन शर्मा, पत्रकार दुर्गा देवकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत वडा सदस्य गणेश घर्तीमगरले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव चक्रबहादुर रावलले गर्नुभएको थियो ।