३० बालिकालाई शैक्षिक सामग्री सहयोग

टीकापुर २९ भाद्र/महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था टीकापुरले विपन्न ३० बालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
सहकारीले टीकापुरका १५ वटा सामुदायिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत ३० बालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । बाल दिवसको पूर्व सन्ध्यामा सहकारीले बालिकाहरुलाई झोला, कापी कलम लगायतका सामग्री वितरण गरेको हो ।


सामग्री वितरण गर्दै टीकापुर नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक विना पौडेलले प्राथमिक तह घरको जगजस्तै भएकाले जग बलियो बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको तालमेल मिल्नुपर्ने बताउनुभयो । ‘‘बालबालिको गज बलियो बनाउन शिक्षकले मात्र मेहनत गरेर पुग्दैन, बालबालिकाको पढाइको अवस्था बारे अभिभावक ले पनि समय दिनुपर्छ । विद्यालय पठाउँदैमा जिम्मेवारी पूरा हुँदैन’’ उहाँले भन्नुभयो, ‘‘बालबालिकाको भविष्य बनाउने बेलामा सबै जिम्मेवार बन्नुपर्छ ।’’
उहाँले सामुदायिक विद्यालयमा लेखनशैली भन्दा पठनशैली कमजोर रहेकाले शिक्षकले कक्षा कोठामा पढ्न लगाउने, ब्याख्या गरेर पढाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षिका तथा सहकारीका पूर्व अध्यक्ष ललिता शाहीले बालबालिकाका आवश्यकता र भावनासँग धेरै अभिभावकले खेलवाड गर्दा बालबालिकाको भविष्य बिग्रने गरेकाले घरमा पनि बालमैत्री व्यवहार आवश्यक रहेको बताउनुभयो । ‘‘घरमा पनि बालमैत्री वातावरण, विद्यालय, समाज सबैतिर बालबालिकाका लागि सहज र रमाएर पढाइमा रुचि जाग्ने खालको वातावरण चाहियो’’,उहाँले भन्नु     भयो ।
कार्यक्रममा समाजसेवी रुक्मिणी शर्मा, पत्रकार दुर्गा देवकोटा, शिक्षक ज्ञानु पौडेल, ध्वजबहादुर ओड लगायतले बोल्नुभएको थियो ।
सहकारीका अध्यक्ष शोभा शर्मा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रम सहकारीका सचिव कला विष्टले सञ्चालन गर्नुभएको थियो ।