अवसरवादी प्रबृत्ति नै समस्या

सम्पादकीय
पछिल्लो समय हरेक अगुवामा अवसरवादी प्रबृत्ति हाबी हुँदा समस्या हुन थालेको छ । कसरी हुन्छ आफुले लाभ लिन सकिन्छ भन्ने सोच पालेकै कारण आपसमा अबिश्वास पनि बढ्दै गएको छ । अबिश्वास बढ्दै जाँदा नेताहरुले मनपरी गर्ने गरेका छन् । अवसरवादी प्रबृत्तिकै कारण पार्टीको आडमा बिभाजन हुन र राम्रो नराम्रो भन्दा पनि कहाँ फाइदा हुन्छ भनेर समर्थन जनाउने गरेका छन् । हरेक समाजमा वेथितीमा रमाउनेहरुको संख्या ठूलो । समाजलाई कसरी अघि बढाउने भन्ने बारेमा सोच्नु भन्दा समाजबाट कसरी दोहन गर्न सकिन्छ भन्ने मानसिकताको विकास भएको छ । समाजलाई मिलाएर लैजानुपर्छ भन्नु भन्दा पनि आफु कसरी बलियो हुन सकिन्छ भन्ने बारेमा ध्यान दिएको पाइन्छ । समाजमा आएको विकास बजेट होस् या अन्य स्रोतमा टाठाबाठाले ¥याल काढ्ने गरेका छन् । यसरी ¥याल काढ्नेहरु कै कारण समाज द्वन्दमा फस्दै गएको छ । यही शैली साशन चलाउनेहरुमा पनि देखिएको छ । सत्तामा गएपछि मुलुकको हित भन्दा आफु र आफ्नो समूहको हित चाहनेहरु हाबी भए । मुलुकको साधन स्रोतलाई अत्यिधिक दोहन गरेर आफ्नो कुम्लो बलियो बनाउनेहरुकै कारण देशमा बिभिन्न समस्या थपिदै गएको छ । दिनप्रतिदिन समस्या थपिदै जाँदा हरेक क्षेत्र तहस नहस भएको छ । आर्थिक रुपले समस्या ग्रस्त मुलुक जनयुद्धको घाउ मेटाउने प्रयास भएको पाइदैन । केवल टालटुले नीतिकै कारण समस्या घट्नु भन्दा पनि बढ्दै गएको अवस्था छ । गणतन्त्रमा नागरिक शोक र भोकले मर्नु पर्ने अवस्था छ । देशको विकास सबै मिलेर गर्नुपर्ने हो । सक्षम व्यक्तिको हातमा सत्ता जानुको सट्टा लोभीपापीको हातमा सत्ता पुग्ने गरेको छ । अधिकांस राजनीतिक दलका नेताहरु बद्नाम छन् । यो सबै नागरिक चुपचाप बस्नाले हो । नागरिकले दबाब सृजना नगर्ने हो भने मुलुक थप संकटमा पर्ने निश्चित हो । काठमाण्डौमा बालेन शाहले देखाएको बाटोमा हिड्ने प्रयास गर्ने हो भने पनि धेरै हदसम्म सुधार हुनछ । बालेन बन्न मन छ तर अवसरवादी सोच हटाउन तयार छैनन् । बालेन बन्ने हो भने सत्यर तथ्यको बाटो हिड्नुपर्छ भनेर सिक्न जरुरी छ । नागरिकको सहयोगले बालेनको मनोबल बढ्दै गएको छ भने अवसरवादी र अराजकतामा रमाउन बानी परेकाहरुको मनोबल घट्दै गएको पाइन्छ । नागरिकले चाहे नेतृत्वमा सुधार हुन सक्ने भन्ने सन्देश बालेनले दिएका छन् ।