एकिन्द्र तिमिल्सेना
टीकापुर, २८ माघ/आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय लम्कीले लामो समयसम्म आयकर नबुझाउने करदातालाई कर बुझाउन ताकेता गरेको छ ।
कार्यालयले टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका,भजनी नगरपालिका, जानकी गाउँपालिका,जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका गरी आठ वटा पालिकाका नौ हजार करदाताको विवरण सार्वजनिक गरी पन्ध्र दिनभित्र कर बुझाउन आउन सूचित गरेको हो ।
आर्थिक ऐन २०८१ ले लामो समय कर नबुझाएका करदाता लाई जरिवाना र ब्याज छुट दिएकाले यसको लाभ लिन सूचना जारी गर्नुपरेको कार्यालयले जनाएको छ । अन्यथा आयकर ऐन २०५८ दफा ९६ बमोजिम पेश गर्नुपर्ने आय विवरण पेश नगरेकालाई जरिवाना र व्याज लाग्छ । कर कार्यालयमा दर्ता भएका तर सञ्चालन मा नरहेका व्यवसाय र संस्थालाई यो अवसर हुनेछ ।

‘३० लाख भन्दा तलको कारोवारको वार्षिक चार हजार हो । २०७०/७१ देखि नै कर नबुझाए को हकमा एक लाख ३६ हजार पुगेको छ छुट सुविधाले २४ हजारदेखि ३६ हजारसम्म बुझाए पुग्छ’ करदाता सेवा कार्यालय लम्कीका प्रमुख कर अधिकृत किरण भण्डारीले भन्नुभयो, ‘हिसाव मिलान गरेर स्थानीय तहबाट व्यवसाय बन्द भएको प्रमाण बुझाए मात्रै पान बन्द हुन्छ अन्यथा कर परिरहन्छ यो सुविधा अनुसार करदाताले ३५ लाख बराबरको छुट सुविधा लिइसकेका छन् ।’
प्रमुख भण्डारीका अनुसार सामाजिक संस्थाहरुको हकमा पनि प्रत्येक पदाधिकारी जिम्मेवार हुने भएकाले हालसम्मकै लेखापरीक्षण गरेर कर योग्य आय भए सो अनुसार बुझाएर संस्था बन्द गर्न सकिन्छ ।
टीकापुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बजगाईले छुट सुविधा लिन सबै व्यवसायीलाई जानकारी गराइने र आफ्नो दायित्व पूरा गरेर निर्धक्क व्यवसाय गर्नुपर्ने बताउनु भयो ।
करदाता सेवा कार्यालय लम्की को चालू आर्थिक वर्षमा ९५ करोड रुपियाँ लक्ष्य रहेकोमा हाल सम्म ७१ प्रतिशत लक्ष्य पूरा गरेको बताउनुभयो ।