कांग्रेस भित्रका भ्रष्टहरुलाई पाखा लगाउनुपर्छ

सम्पादकीय
यो देशमा अझै पनि कांग्रेससंग नागरिकले आशा गरेका छन् । पटक पटक सत्तामा गएपनि जनचाहना अनुसार काम नभएको आम गुनासो छ । प्रजातन्त्रका लागि लडेका नेताहरु पछिल्लो समय जनतासंग टाढिन पुगेका छन् । सत्तामा जाने होडवाजीले आपसमा द्वन्द गर्ने गरेका छन् । सत्ताका लागि एकले अर्कालाई समाप्त पार्ने खेलमा लागेका छन् । पार्टी कव्जा गरेर मनपरी गर्ने प्रबृत्ति हाबी हुँदा पछिल्लो समय राम्रा मान्छेले कृयाशिल सदस्यता सहज रुपमा पाउने वातावरण छैन भने जुन पार्टीको भएपनि आफ्नो मान्छे भएपछि कृयाशिल सदस्यता थमाउने गरिएको छ । अहिले कृयाशिल सदस्यता कांग्रेसका लागि ठूलो समस्या भएको छ । यो समस्या आउनुको एउटै कारण हो पार्टी कव्जा गर्ने । पछिल्लो समय पैसा भएका र कांग्रेस नबुझेकाहरुको भिडले कांग्रेस चलाउन थालेपछि पार्टीको साख खस्कन थालेको छ । गणतन्त्र बलियो बनाउने हो भने कांग्रेस बलियो हुनुपर्छ । कांग्रेस बिना नेपालमा प्रजातन्त्र बलियो हुन सक्दैन । यही अवस्थामा कांग्रेस बलियो हुने अवस्था छैन । कांग्रेस सत्तामा बसेपनि काम गर्ने अवसर कम पाएको छ । गणतन्त्र आएपछि निर्बाचन प्रकृयाका कारण कसैको बहुमत आउदैन । यस्तो अवस्थामा अस्थिरतामा रमाउनेहरुलाई फाइदा पुगेको छ । कांग्रेसले जनताको मन जित्न जरुरी छ । अहिलेकै व्यबहारले कांग्रेसले जनताको मन जित्न सक्दैन । महामन्त्री गगनकुमार थापाले पटक पटक पार्टी भित्रको फोहर सफा गर्न जरुरी छ भन्ने अभिव्यक्ति दिने गरेका छन् । यसबाट पनि पार्टीमा फोहरीहरुको कारण समस्या भएको बुझ्न सकिन्छ । पार्टीमा भएका गलत मान्छेलाई सुधार्न जरुरी छ । भ्रष्ट आचरण भएकाहरु पार्टीमा भएपछि समस्या भएको सबैले महशुस गरेका छन् तर कोही बोल्न तयार छैनन् । आफ्नै पार्टी भित्र भ्रष्ट र आचरण राम्रा नभएकाहरु छन् भने अर्काको बिरुद्ध कसरी बोल्न सकिन्छ ? अरुलाई भन्नु भन्दा पहिला आफुमा सुधार हुन जरुरी छ । कांग्रेसले पार्टी सुधार्न छबि बचाएकाहरुलाई अघि बढाउन जरुरी छ ।