खक्रौला नाकामा सामान बरामद गर्दा विवाद

टीकापुर, ६ चैत्र/कैलालीको खक्रौला नाकामा भारतबाट नेपालतर्फ ल्याइरहेको सामान  बरामद गरेको विषय विवाद बढ्दै गएको छ ।
बुधबार केही स्थानीय युवाले गुल्मको गेट तोडफोड गर्दै  ब्यारेकभित्र प्रवेश गरेर ब्यापारी लाई दुःख नदिन भन्दै डीएसपी प्रदीप पौडेललाई हातपात गरेका छन् ।
मंगलबार साँझ टीकापुरका एक ब्यापारी (एसजीए ट्रेड एण्ड सप्लायर्स) ले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौला ले बरामद गरेको थियो । उक्त सामानलाई अवैध भनेपछि सशस्त्रका बीओपी प्रमुख डीएसपी प्रदीप पौडेलले विवाद सुरु गरेको व्यवसायीको आरोप   छ ।
टीकापुर उद्योग वाणिज्य संघ सहितका व्यवसायीले उक्त कदमको विरोध गरेपछि सशस्त्र प्रहरीको बीओपी खक्रौलाले सम्बन्धित व्यवसायीलाई बरामद गरिएका सामान फिर्ता गरिसकेको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले सीमा क्षेत्रमा व्यवसायीलाई सशस्त्र प्रहरीले अनावश्यक दुःख र हैरान दिन थालेको, त्यसबारेमा पटक पटक अनुरोध गरेको, ब्यापारीलाई दुःख दिएकाले विवाद बढेको, उद्योग वाणिज्य संघको टिम छलफल गरेर निस्कने बेला स्थानीय युवा आएका, त्यहाँ डिएसपीले अपशब्द बोल्दा अवस्था असामान्य भएको बताउनुभयो ।
घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको छ । बाहिनीमा कार्यरत सशस्त्र  प्रहरी उपरीक्षक(एसपी) अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको, कैलाली गणबाट थप सुरक्षाकर्मी खटाइएको, ९ गतेभित्र समितिले प्रतिवेदन बुझाउने र सोही अनुसार अघि बढ्ने वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापा बताउनुहुन्छ ।
यहाँ असोजमा पनि एक महिला माथि प्रहरीबाट दुव्र्यवहार भएको आरोप छ ।