सम्पादकीय
टीकापुर स्थित साना सहरी खानेपानी संस्थामा पदाधिकारी र कर्मचारीको अराजकताले संस्था डुव्ने निश्चित हो । संस्थाको पैसा सापटी लिने देखि मनपरी खेलाउने कुरा छताछुल्ल भएपछि साधारणसभामा व्यापक प्रश्न खडा भयो । पार्षदले प्रश्न खडा गरेपनि छानविन गर्ने कुरा उठ्यो तर साधारणसभा समापन भएको कुरा आएको छ । पार्षदले खानेपानीका पदाधिकारीले अध्ययन गर्ने र १५ दिनमा पुनः बन्दसत्र गर्ने सहमति भएको कुरा बाहिर भन्दैछन् तर सत्य कुरा साधारणसभा सम्पन्न भएको छ । खानेपानी समग्र टीकापुरको हो । यो बृहत योजनामा पारदर्शिता हुनुपर्छ भन्ने हो । पेश्की रकम मात्र होइन उठेको शुल्क कर्मचारी र संस्थाका पदाधिकारीले मनपरी खेलाएको कुरा आएको छ । बजारमा आएका हल्लालाई सम्बोधन गर्ने र दिर्घकालिन रुपमा समस्या समाधान गर्न सत्य तथ्य बाहिर आउन जरुरी थियो । सत्य तथ्य बाहिर ल्याएर उपभोक्तालाई बिश्वास दिलाउन प्रयास गर्नुको साटो साधारणसभा बन्द गर्नु अराजकता हो । छानविन भएपछि धेरै कुरा आउनेवाला छन् भन्ने आवाज बजारमा सुनिन्छ । बजारका कुरा सत्य हुन् की होइन भनेर थाहापाउन पनि छानविन गर्नुपर्छ । राजनीतिक दलले यो बिषयमा चासो राखेको पाइदैन । यसरी तै चुप मैचुप हुने हो भने समाजमा बस्ने हरेकले को निका छन् भन्नु सही हो भन्नुपर्ने अवस्था आउँछ । एकदुईजनाले गरेको बद्मासी सबैको थाप्लो हाल्नु भन्दा खराव मान्छे पहिचान गरेर त्यसलाई संस्थाबाट लखेट्नुपर्छ । बेरोजगार हुने अनी संस्थामा गएर मोज गर्नेहरुले आपसमा द्वन्द बढाउने गरेका छन् । बेरोजगार हुने अनी सामाजिक कार्यकर्ताको पहिचान खोज्ने प्रचलन बन्द हुनुपर्छ । खानेपानी संस्था बचाउनका लागि आम उपभोक्ता सचेत हुन जरुरी छ । खानेपानीका बारेमा सत्यतथ्य कुरा ल्याउन पार्टीका नेताहरुले पहल गर्नुपर्छ । यदि राजनीतिक दलका नेताहरु चुप लाग्छन् भने सामाजिक अगुवाहरु एक भएर उपभोक्तालाई जगाउन जरुरी छ । उपभोक्तालाई साथमा लिएर खानेपानीमा देखिएको वेथिति समयमै रोक्न जरुरी छ । सबै उपभोक्ता सचेत हुन जरुरी छ ।