‘जनतासंग माओवादी’ र प्रचण्ड

सम्पादकीय
यतिखेर नेकपा माओवादी ‘जनतासंग माओवादी ’अभिायन भनेर देश दौडाहामा    छ । हिजो जनयुद्ध गरेको पार्टी जनतामाझ जाँदा आलोचना गर्नु राम्रो होइन तर माओवादीले संकट परेका बेला मात्र जनता चाहिने हुन झैं गरेको छ । २०६२/०६३ को आन्दोलन पछि गणतन्त्र आयो गणतन्त्र पछि माओवादी पटक पटक सत्तामा बस्यो या सत्ताको वरपर बसिरहयो । १५ बर्ष सत्ताको वरपर बसेको क्रान्तिकारी पार्टीले के आमूल परिवर्तन ग¥यो भन्ने हो भने केही भेटिदैन । क्रान्तिकारी भन्ने अनी नागरिकका आधारभुत कुरामा केही काम नगर्ने भएपछि त्यस्ता क्रान्तिकारी को के काम ? जनताका लागि जनयुद्ध गरेका हौं भन्ने माओवादीका नेताहरु पछिल्लो समय सत्तामा गएकाबेला के के गरे छर्लङ्ग छ । माओवादी भन्न पनि लाज मान्नुपर्ने अवस्था छ । माओवादीको इच्छा शक्ति भएको भए धेरै कुरा जनताले पाउने ठाउँ थियो । राजा फालेर आफु राजा हुने सोच पालेका माओवादीका अध्यक्ष प्रचण्ड यतिखेर फेरी जनता जनता भन्न थालेका छन् । सत्तामा गएका बेला प्रचण्डले आफ्ना परिवार र केही निश्चित परिवारलाई मोटाउने काम गरे तर आम कार्यकर्ता र जनताको भावना बुझ्ने प्रयास गरेनन् ।सत्तामा भएका बेला जनताको भावना बुझ्न प्रयास नगर्ने प्रचण्डले आफ्नो पार्टीको शिर्ष पद छाड्न मान्दैनन् । आफु असफल भएपछि अरु लाई पालो दिउ पनि भन्दैनन् । यस्तो सोच भनेको राजा हुँ भन्ने सोच हो । राजालाई सत्तो सराप गर्ने माओवादीहरुको व्यबहार के कम्युनिष्टको जस्तो छ ? कम्युनिष्ट भन्ने बर्गका कुरा गर्ने अनी माथिल्लो बर्गको हितका लागि मात्र काम गरेको पाइन्छ । जनआन्दोलनपछि लगातार सत्तामा ढुलिमूली गर्दै आएको माओवादी केही महिना अघिसम्म सत्तामा थियो । सत्तामा हुँदा सुधार कुरा भएनन् । भ्रष्टाचार रोक्ने सवालमा होस् या राज्यका बिभिन्न निकायमा हुने नियुक्तिका बारेमा माओवादी गम्भिर भएन । कतिपय नियुक्तिमा बद्नाम पात्रलाई खोजि खोजी राख्ने काम भयो नागरिक स्तरबाट बिरोध हुँदा माओवादीलाई बिरोधले छोएन । चरम बेथितिको आहलमा मोज गर्न पल्केका माओवादीले सस्तो लोकपृयताका लागि लडाकु र सहिद परिवारलाई राहत दिने कार्यक्रम बाहेक केही आएनन् । अहिले अभिायन मार्फत मनपरी बोल्न थालेका छन् । सत्तामा बसेका बेला मात्र होइन प्रतिपक्षमा बसेका बेलामा पनि जनताको पक्षमा काम गर्न सकिन्छ प्रजातन्त्रमा । प्रजातन्त्रको सुरन्दर पक्ष भनेकै सत्तापक्ष र प्रतिपक्ष मिलेर देश र जनताको पक्षमा काम गर्ने हो । जनताको सवालमा अहिले पनि माओवादीसंग प्रष्ट खाका छैन । जनताको सवालमा प्रष्ट खाका नभएका पार्टीले जनतासंग साथ माग्नु अपराध हो । यस्तो अपराधमा जनताले पनि साथ दिनु हुँदैन । जु पार्टी खराव छ त्यो पार्टीको नेतृत्वलाई साथ नदिने हो भने नेतृत्व सुध्रन बाध्य हुन्छ ।