जातीको उत्थानका नाममा व्यक्तिको रजगज

सम्पादकिय

जात र भुगोल भएपछि दबिएकाहरुको उत्थान हुन्छ भन्ने सोच सरसर्ति हेर्दा जति सजिलो छ त्यो भन्दा बढी जटिल छ । उत्थानका नाममा केही व्यक्तिले नेतृत्व पाए होलान् । आफ्नो समाजको उत्थान गर्छु भनेर भावना बगाएर जनताको मत लिएपनि पछिल्लो समय नेपाली समाज भ्रष्टाचारमा लिप्त छ । यस्तो लिप्त समाजमा उत्थान का नाममा आएको नेतृत्व पनि चुक्दै गएको देखिन्छ । जनता देखाएर आफुले रजगज गर्ने राजनीति जतिजति टिक्छ त्यति त्यति मुलुकको बर्बादी हुन्छ । मुलुक बर्बाद हुने अनी जातको उत्थान हुने कुरै भएन । कलस्टर पाएपछि जातीको उत्थान हुन्छ भन्ने सोच बलियो थियो । आफ्नो जातीका बारेमा आफ्ना जातीकै जनप्रतिनीधि ले काम गर्छन् भन्ने सोच थियो तर जनप्रतिनीधिको व्यबहार हेरेपछि कलस्टरको कुरा मात्र रहेछ भन्नुपर्ने अवस्था छ । मधेश प्रदेशमा जति भ्रष्टाचार र बेथिति कतै छैन तर त्यही सबै भन्दा बढी उत्थानका नारा लाग्ने गर्छ । हरेक नेता सत्ता लिप्सा र भ्रष्ट भयो । यस्तो भ्रष्ट समाजमा कसैको उत्थान हुन्छ भनेर सोचनु गलत हो । २०७२ सालमा देशभर कलस्टरको कुरा भए । अधिकार माग्नु स्वभाविकै हो । संबिधान निर्माण भएपछि प्रदेश निर्माण भए । कैलाली जिल्लामा केही पालिका थारु समुदायको कलस्टर छ । पालिकामा कलस्टरको माग गर्ने समूहको बर्चश्व छ । क्षेत्र नम्बर १ र ३ का ४ वटा पालिकामा थारु समुदायको नेतृत्व छ यो अवसर पनि हो । थारु समुदायका एजेण्डा स्थानीय तहले निर्धारण गरेर कार्यक्रम गरेको भए सबैले कलस्टरको महत्व बुझ्ने थिए । सुमदायसंग भोट माग्ने बेला अधिकारका कुरा गर्ने अनी निर्बाचित भएपछि योजना नल्याउने राजनीतिले कसैको हित गर्दैन । पुल , भवन , अन्य काम गर्नका लागि जो प्रतिनीधि भएपनि उही हो । विकास गर्नका लागि क्षमता भएको जनप्रतिनीधि आउनुपर्छ । कलस्टर चाहियो भन्ने समुदायले आफ्नो जनप्रतिनीधि बलियो बनाउने सवालमा काम गर्नुपर्ने हो । जनताले आफ्नो नेतृत्व बलियो बनाउने अनी नेतृत्वले पनि आफ्नो समुदायका बारेमा केही भएपनि काम गरेको भए कलस्टरको माग पुष्टि हुने थियो । चारवटा पालिका मिलेर जनजातीका सवालमा ठोस योजना बनाएर काम गर्न जरुरी थियो तर एक पटक पनि समन्वय भएको आभाष पाइएन । एउटै कलस्टर खोज्ने जनप्रतिनीधिहरु आपसमा मिलेर विकासका काम गरेको भए सकारात्मक सन्देश जाने थियो । समुदायको पहिचानका बारेमा चारवटा पालिकाले ठोस काम गरेको पाइदैन । पटके सास्कृतिक कार्यक्रमका लागि बजेट दिएर संस्कृति बचाउन सकिदैन । अवसर पाएको बेला केही नगर्ने अनी अघिपछि अधिकारका कुरा गर्नु भनेको जनतालाई ठग्नु हो । यतिखेर नागरिक उन्मुक्ति पार्टीमा आपसमा द्वन्द छ । अवसर पाएका बेला पार्टी र जनप्रतिनीधिबीच समन्वय छैन । अवसर पाएका बेला समन्वय गरेर जनताको मन जित्नुपर्छ । पाएको अवसरलाई सुरक्षित गर्ने सवालमा सचेत हुन जरुरी छ ।