टीकापुरमा कभर्ड हलको शिलान्यास

टीकापुर, ७ बैशाख/ टीकापुर स्थित वीरेन्द्र विद्या मन्दिर माविको खेलमैदानमा कभर्ड हलको शिलान्यास गरिएको छ ।
कभर्ड हलको टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार शिालान्यास गर्नु भएको हो । शिलान्यासपछि नगरप्रमुख थारुले टीकापुर शहरको परिकल्पनाभित्र बजार बस्ती औद्योगिक क्षेत्र र खेलकूदका लागि छुट्टयाए पनि अन्य शहरको तुलनामा टीकापुरमाा कभर्ड हल नभएको बताउनुभयो ।
उहाँले  कभर्ड हल बनेमा भलिबल ब्याडमिन्टन जस्ता खेल र विपद् को समयमा आश्रयस्थलका रुपमा पनि प्रयोग गर्न सकिने बताउनुभयो । विद्यालयका निमित्त प्राधानाध्यापक डाक्टर योगेन्द्र बजगाईले कभर्ड हल बनेमा खेलकूद र ठूला सभाहरु पनि गर्न सकिने बताउदै नगरपालिकाले खेलकूद मैदानमा घेरा पर्खाल पनि बनाउन सके विहान र बेलुका सबै उमेर समूहका मानिसले खेलमैदान प्रयोग गर्न सक्ने बताउनु भयो ।
कभर्ड हल निर्माण गर्न कम्पनीहरु सास्वत–सिताराम–स्यारोनाले सयुक्त रुपमा ठेक्का पाएका छन् ।
टीकापुर नगरपालिकाको लगानीमा बन्न लागेको कभर्ड हल टीकापुरमा पहिलो हुनेछ । हभर्ड हल निर्माण गर्न कम्पनीले कर बाहेक २ करोड ६४ लाख ५१ हजार रुपियाँ कबोलेको छ । २०८३ भदौ २० गतेसम्म कभर्ड हल निर्माण गरिसक्ने गरी सम्झौता भएको छ ।
वीरेन्द्र विद्या मन्दिरको स्वामित्वमा रहेको पाँच विघाको मैदानमा नगर खेलकूद, मेयर कप लगायतका विभिन्न खेल प्रतियोगिता हुँदै आएका छन् । खुला मैदानमा हुने प्रतियोगिता सञ्चालन गर्दा टेण्टको भरमा गर्नुपरिरहेको छ ।
कभर्ड नहुँदा व्याडमिन्टनका पारखीहरुले चोकचोकमा आफै कोर्ट बनाएर खेल्ने गरेका छन भने पानी परेको दिन बन्द हुने गरेको छ ।