टीकापुरमा आजबाट प्लास्टिकको झोला प्रयोग बन्द ,नागरिकलाई सुचना दिन माइकिङ

टीकापुर, १ साउन/टीकापुर नगरपालिकाले आजबाट  प्लास्टिक को झोला प्रयोगलाई बन्देज लगाएको छ । प्लास्टिकको प्रयोगले वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै सरसफाइमा समेत समस्या भएपछि नगरपालिकाले प्लास्टिकको झोला प्रयोग बन्द गर्ने निर्णय गरेको हो । नागरिक लाई सहज होस् भनेर प्लास्टिक का झोलाको सट्टामा कपडा, फाइबर,बायोमेट्रिक इकोव्याग र कागजका झोलाहरु प्रयोग गर्न आग्रह गरेको छ । प्लास्टिक मुक्त अभियान चलाएर नगरपालिकाले प्लास्टिक लाई निरुत्साहित गर्ने कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख रामलाल डगौंरा थारुले भन्दै आउनुभएको छ । उहाँले नगरपालिका दुई महिना अघिबाट साउन १ लाई आधार मानेर प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियानमा जुटेको बताउनुभयो ।
नगर प्रमुख रामलाल डगौंरा थारुले प्लास्टिकजन्य बस्तु रोक्न स्थानीय राजनीतिक दल, पत्रकार र समाजसेवीसँग छलफल चलाउनु भएको थियो  ।  यसै गरी व्यापारी, उद्योग वाणिज्य संघ का पदाधिकारी र संघ संस्थासंग छलफल चलाइ सक्नुभएको छ । छलफलमा सबैले सहयोग गर्ने वचन दिएपछि हौसला बढेको  नगर प्रमुख डगौराले बताउनुभयो ।
बिकल्प सहित प्लास्टिकको झोला बन्देज लगाउने कार्यक्रम ल्याएको उहाँको भनाई थियो ।  मकैको खोस्टबाट बन्ने झोला र पाइबर झोला बिकल्पमा प्रयोग गर्न सकिने भएकाले नागरिकलाई समस्या नपर्ने उहाँको भनाई थियो ।
स्थानीय राजनीतिक दल, समाजसेवी, व्यापारी सबैले प्लास्टिक बन्देज कार्यक्रमको सहना गर्दै यस कार्यक्रमलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्नेमा बताइरहेका छन् ।  उनीहरुले  नयाँ कार्यक्रम भएकाले नागरिकलाई यसबारे चेतना जगाउने बोर्डहरु लगाउनुका साथै प्रचार प्रसार गर्न सुझाव दिएका थिए ।
प्लास्टिकको झोला बिक्रेतालाई प्रथम पटक एक हजार रुपैया जरिवाना गर्ने भएको छ भने दोस्रो पटक भेटाए ३ र तेस्रो पटक भेटाए ५ हजार रुपैयाका दरले जरिवाना गर्ने छ ।
प्लास्टिकको झोला प्रयोग गर्नेलाई पहिलो पटक १० रुपैया जरिवाना हुने छ भने दोस्रो पटक भेटाए ५० रुपैया र तेस्रो पटक भेटाए सय रुपैया जरिवाना लिइने छ । प्लास्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक २ हजार, दोस्रो पटक भेटाए ४ हजार र तेस्रो पटक भेटाए ६ हजार जरिवाना तिर्नुपर्ने छ ।
नगरपालिकाले प्लास्टिकजन्य बस्तुलाई रोक्न जरिवानालाई कडाईका रुपमा पालना गरिने जनाएको छ ।
‘‘प्लास्टिकको झोला बन्देज कार्यक्रम सफल भयो भने नगर सफा राख्नमा आधा समस्या समाधान हुन्छ’’, नेपाली कांग्रेस का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भन्नुभयो, ‘‘आम उपभोक्ता र व्यापारीलाई सचेत गराउन जरुरी छ ।’’ नगर सफा राख्नु सबैको दायित्व भएकाले नगरपालिकाले ल्याएको प्लास्टिक मुक्त नगरपालिका अभियान शुरुमा टीकापुर नगरपालिका प्लास्टिक जन्य बस्तु प्रतिबन्ध सम्बन्धि ऐन २०८० स्थानीय रापत्रमा २०८० साल चैत्र २५ गते प्रकाशित भएको हो । यो ऐनमा नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति बनाएर काम गर्ने भनिएको छ ।