टीकापुरमा विपद् प्रभावित ७० बालबालिका विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण

टीकापुर, ३० साउन/आइएमइ लाइफ इन्स्योरेन्सको सातौँ बार्षिकोत्सवको अवसरमा टीकापुरमा विपद् प्रभावित बालबालिका विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।
टीकापुरका बस्तीमा रहेका ७ वटा विद्यालयमा अध्ययनरत ७० जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो । जसमा विद्यालय पोशाक, झोला, कापी, सिसाकलम लगायतका सामग्री छन् ।
आइएमइ लाइफ इन्स्योरेन्स टीकापुर शाखाको आयोजनामा भएको कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्दै नगर प्रमुख रामलाल डगौरा थारुले सबैलाई शैषिक सामग्री दिन पालिकाले नसक्ने बताउँदै विपन्नलाई शिक्षा आर्जन मा सक्दो सहयोग गर्ने बताउनु भयो ।
शिक्षा अधिकृत नरेश अवस्थीले बस्तीमा रहेका बालबालिकाको शिक्षामा समस्या रहेकाले विभिन्न संघसंस्थाको सहयोगमा यस्ता खाले सहयोग गरिरहेका बताउनु भयो । उहाँले ७ वटै विद्यालयका सबै बालबालिकालाई सघाउने इच्छा भए पनि नसकेको बताउँदै आउँदा दिनमा छलफल गर्ने बताउनुभयो ।


आइएमइ लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख सुमन तिमिल्सिनाले इन्स्योरेन्सले विगतका वर्ष झैँ बार्षिकोत्सवका अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । साउन २७ गतेदेखि वृक्षारोपण, वित्तिय साक्षरता कार्यक्रम, शैक्षिक सामग्री सहयोग गरेको र रक्तदान जस्ता कार्यक्रम गरेर १ गते कार्यक्रम सकिने बताउनुभयो ।
तिमिल्सिनाले कमाइको केही अंश सामाजिक काममा लगाउनु पर्छ भनी इन्स्योरेन्सले शिक्षा क्षेत्र लाई प्राथमिकता दिएर सहयोग गरेको बताउनुभयो ।
कर्णालेश्वर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद भण्डारीले बस्तीमा बस्ने सबै विद्यार्थी विपन्न र समस्यामा भएकाले जातपात नहेरी सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
शक्तिदेवी आधारभूत विद्यालय का प्रधानाध्यापक काशिराम ढुंगानाले अधिकाँश विद्यार्थी विपन्नताका कारण कक्षामा कापी कलम नलिएर आउने गरेका बताउँदै यस्ता समस्या सबै मिली समाधान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इन्स्योरेन्सका एरिया शाखा प्रवन्धक तुल्सी देवकोटाले स्वागत गर्नुभएको थियो भने सञ्चालन टीकापुर शाखा प्रमुख अर्जुन चौधरीले गर्नुभएको थियो ।