टीकापुर अस्पतालमा जनरल सर्जन सेवा दुई वर्षमा एक हजार तीन सय ७० को शल्यक्रिया

दुर्गा देवकोटा
टीकापुर, १९ साउन/कैलाली को टीकापुर अस्पतालमा विगत दुई वर्षमा जनरल सर्जन तर्फ १ हजार ३७० को शल्यक्रिया भएको छ । अस्पतालमा सामान्य मात्र होइन जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको   छ । अस्पतालमा शैयाको संख्या र परीक्षण गर्ने उपकरणको प्रयाप्त व्यबस्था भएको भए यो संख्या अझ बढी हुने थियो ।
टीकापुर अस्पतालमा जनरल सर्जन डाक्टर नबिनचन्द्र भट्ट आएपछि शल्यक्रिया सेवा भएको हो । डाक्टर भट्ट २०७९ असार १९ गते हाजिर भएपछि अस्पताल बाट सेवा शुरु भएको हो । अस्पतालमा सामान्य, मध्यम र जटिल शल्यक्रियाको सेवा दिने गरिएको छ ।
सामान्य शल्यक्रिया ६ सय जना गरेको अस्पतालले जनाएको छ । ‘‘सामान्य शल्यक्रिया ६ सय जति भएका छन् भने एक सय ५० जनाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ’’, डाक्टर भट्टले भन्नुभयो, ‘‘पित्तथैलीको पेट काटेर ७५ जनाको शल्यक्रिया गरिएको छ । दुरबिनबाट ३२, ल्याप्रोस्कोपी बिधीबाट प्वाल पारेर २ वटा भएका छन् ।’’
जटिल खालका शल्यक्रिया जसमा एपेन्डिक्स फुटेका ३, स्तनको गाँठागुठी र स्तन क्यान्सरको ३२, पेटमा सिस्ट पलाएको ४ वटा, बच्चाको हर्जिनोटोमी ४२ वटा भएको पनि भट्टले जानकारी गराउनुभयो ।


यसैगरी हर्निया २ सय, फिस्टुला ३६, पाइल्स ४५, दिशा गर्ने ठाउँ पाकेको १५, स्तन पाकेको २६, दिशा गर्ने ठाउँ टाइट भएको १८, हाइड्रोशिल जटिल खालको ८४, विरलै देखिने फिमरो हर्निया ४ जना शल्यक्रिया भएका छन् ।
दिशा गर्ने ठाउँको माथि प्वालबाट पिप र रगत आउने २ जनाको शल्यक्रिया भएको छ । उसो त अस्पतालमा सामान्य खालका बोसोको डल्ला, मासु पलाएको, पानीको फोका, गाठागुठी पलाएको, स्तनमा सामान्य गाठागुठीको ६ सय बढी शल्यक्रिया भएका छन् । यसरी टीकापुर अस्पतालमा शल्यक्रिया हुन थालेपछि कैलाली को पश्चिम भेग, बर्दिया, सुर्खेत र अछामका बिरामीले ठूलो राहत पाएका छन् ।
‘‘बिरामीको चाप छ तर पर्याप्त शैयाको अभाव छ, थप सेवाका लागि उपकरण आवश्यक पर्छ’’, डाक्टर भट्टले भन्नुभयो, ‘‘अस्पताल मा सेवा पाएपछि नागरिकले थप सेवा खोज्छन् जुन स्वभाविकै हो ।’’
विगतमा एक्लै थिए भन्दै भट्टले २०८१ साल वैशाख अन्तिमबाट अर्का शल्यचिकित्सक थपिएपछि सेवा दिन थप सहजता भएको बताउनुभयो ।


‘‘व्यवस्थापन पक्षबाट राम्रो सहयोग छ । मोडुलर ओटी ९सुविधा सम्पन्न० सुविधा मिलाइएको छ । सबै खाले विशेषज्ञ डाक्टर भएकाले शल्यक्रिया गर्न र सहकार्य गर्न सहज भएको छ’’ भट्टले भन्नुभयो, ‘‘आइसियु भइ दिएको भए धेरै सहज हुन्थ्यो । स्वास्थ्यकर्मीलाई बारम्बार थप तालिको व्यवस्था आवश्यक छ ।’’ उहाँले बजेट अपर्याप्त हुँदा बेड अभाव हुन्छ । कहिलेकाहीँ शैया अभाव भएर बिरामी फर्काउनुपर्दा रमाइलो लाग्दैन भन्नुभयो ।
दैनिक १० वटासम्म शल्यक्रिया गरेको उहाँको भनाइ छ । जटिल अवस्थाका बिरामी बचाउन सफल हुँदा खुसी लाग्ने गरेको बताउनुभयो । बिर्सन नसक्ने घटना सुनाउँदै भट्टले भन्नुभयो, ‘‘जानकी गाउँपालिकाका ३५ वर्षका एक पुरुष पेट दुखेर आउनुभएको थियो,परीक्षण गर्दा पूरानो अल्सर अत्यधिक रक्सी सेवनका कारण फुटेर शरीरभरि फैलिएको अवस्था थियो तर बचाउन सफल भयौँ ।’’
पेटको खानेकुरा र पित्त शरीरभरि फैलिएको फैलिएर ९५ प्रतिशत ज्यान जाने जोखिममा भएको बिरामीको ३ घण्टा शल्यक्रिया गरेर बचाएको पनि सुनाउनुभयो । ठूला अस्पतालमा प्रयाप्त उपकरण हुन्छन् यहाँ त्यस्तो सुबिधा हामी पाउँदैनौ, सीमित उपकरणबाट काम गर्नुपर्ने बाध्यता भएको उहाँले बताउनु भयो । अब हामी दुई जना सर्जन छौँ, टिमवर्क भएमा हिम्मत बढ्छ भन्दै भट्टले एनेस्थेसियालोजिस्ट डाक्टर पनि दुई जना हुनुहुन्छ र मोडुलर शल्यक्रिया कक्षबाट काम गर्ने गरेका छौँ भन्नुभयो ।
विगतलाई हेर्दा धेरै थपिएका भए पनि तर उपकरण सधैँ चाहिन्छ, सधैँ अभाव महसुस हुन्छ भन्नु भयो । ‘‘सिटी स्क्यान र आइसियु अति आवश्यक छ । आइसियुसँगै शैया लगायतका सुविधा भएको भए धेरै बिरामी लाई सेवा दिन सकिन्थ्यो’’, भट्टले भन्नुभयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रेमकुमार राई टीकापुर अस्पतालमा बिरामीको चाप बढी रहेकाले दुई जना जनरल सर्जन भए पनि शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ‘‘बिरामीको चाप बढी, शैया अभाव भएकाले १र२ दिन कुर्नुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘शल्यक्रिया गर्न ठूलो टिम चाहिन्छ । स्वास्थ्यकर्मी, नर्स सबै तालिम प्राप्त चाहिन्छ । भएकाहरु को क्षमता विकास, सर्जनका लागि आवश्यक अत्याधुनिक उपकरण थप गर्न समेत आवश्यक छ ।’’
अस्पतालका अध्यक्ष झपट सोडारी सर्जरी सेवा थप व्यवस्थित बनाउन प्रयास भइरहेको बताउनुहुन्छ ।
‘‘सुदूरपश्चिममा पहिलो पटक सानो भए पनि मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘ओटी व्यवस्थित भएकाले बिरामीलाई राहत र संक्रमणको जोखिम कम हुन्छ । अझ सेवा सुधारको प्रयासमै छौँ ।’’