टीकापुर, २६ साउन/टीकापुर साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनका लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार भएको मनोनयन दर्ता अनुसार अध्यक्षमा ४, उपाध्यक्षमा ३, सचिवमा ५ र कोषाध्यक्षमा ४ जना गरी १६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन उप–समितिले जनाएको छ । यसैगरी ३ खुल्ला सदस्य पदका लागि १४ जना र २ जना महिला सदस्यका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
संस्थामा राजनितिकरण गर्न नहुने बताउने राजनितिक दलहरु ले नै दलगत रुपमा प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् । ३० गते हुने मतदानका लागि ४ ओटा राजनितिक दल प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा नेपाली काँगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले आफ्ना उम्मेदवार खडा गरी मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेसले खडक धामी को नेतृत्वमा आफ्नो प्यानल घोषणा गरी उम्मेदवारी दर्ता गरेको छ ।

उक्त प्यानलबाट उपाध्यक्षमा सिता चौधरी, सचिवमा अमरसिंह रावल, कोषाध्यक्षमा हिरासिंह विष्ट, सदस्यमा डम्बरबहादुर नायक, तेजे ठकुल्ला, सुन्दर चौधरी, महिला सदस्यमा जानकी आचार्य, माया सुनारले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा एमालले सरिता रावल थापाको नेतृत्वमा प्यानल घोषणा गरी उम्मेदवारी दर्ता गरेको छ । उक्त प्यानलबाट उपाध्यक्षमा मगनी चौधरी, सचिवमा प्रकाश खड्का, कोषाध्यक्षमा वलबहादुर विश्वकर्मा, सदस्यमा बमबहादुर वली, काशीराम कार्की, मेगेन्द्र बहादुर बोगटी, महिला सदस्यमा जालवा देवि भट्टराई र सोनम कुमारी शाहीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा माओवादी केन्द्रले सिर्जना शर्मा पण्डितको नेतृत्वमा प्यानल घोषणा गरी उम्मेदवारी दर्ता गरेको छ । उक्त प्यानलबाट सचिवमा खगेन्द्र रिमाल, कोषाध्यक्ष मा सुमन कुमार न्यौपाने, सदस्य मा केवलसिंह जनाला, वृन्दा कुमारी बराल, पतिराम थारु, महिला सदस्यमा दिलु घर्तिमगर र लक्ष्मी चौधरीको उम्मेदवारी परेको छ ।
यस्तै नागरिक उन्मुक्ती पार्टीले विश्राम चौधरीको नेतृत्वमा प्यानल घोषणा गरी उम्मेदारी दर्ता गरेको छ । उक्त प्यानलको उपाध्यक्षमा गोमा घर्तिमगर, सचिव मा मनिष बलायर, कोषाध्यक्षमा गोपाल थापा, सदस्यमा लोक बहादुर विसी, शंकरबहादुर लोहार, मनिराम डंगौरा थारु, महिला सदस्यमा पार्वती कुमारी चौधरी र उर्मीला चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
दलहरुले प्यानल बनाएर उम्मेदवारी दर्ता गरिरहँदा केहि व्यक्तिहरुले स्वतन्त्र रुपमा पनि आफ्नो उम्मेदारी दर्ता गरेका छन् । सचिव पदमा मञ्जीत रावल, सदस्यमा पदमा जगदिश प्रसाद भण्डारी र मेघराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
निर्वाचन उप–समिति संयोजक श्यामराज पाण्डेका अनुसार २५ गते उम्मेदवारको मनोनयन दर्ता भएको र बिचमा दाविविरोध, उम्मेदवारी फिर्ता लगाएतका कार्यक्रम गर्दै साउन ३० गते मतदान हुनेछ ।
लेखा समितिको लागि उम्मेदवारी दर्ता गराउने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको छ । संस्थाको विधानमा त्यो व्यवस्था नभएका कारण अहिले लेखा समितिको मनोनयन दर्ता नगरेको निर्वाचन उप९समिति संयोजक पाण्डेले बताउनु भयो ।
संयोजक पाण्डेका अनुसार निर्वाचनमा ६ हजार ९४० जना उपभोक्ताले मतदान गर्न पाउने भएका छन् ।