टीकापुर, ११ असार/टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि ९३ करोड ६७ लाख ९७ हजार रुपियाँको बजेट ल्याएको छ ।
टीकापुर नगरसभाका ज्येष्ठ सदस्य रामबहादुर नगार्जीले विशेष तथा समपूरक, सशर्त र विशेष बाहेक पूजिगत तर्फ २५ करोड ३ लाख र चालू तर्फ ३० करोड ५० लाख विनियोजन भएको छ । सभामा प्रस्तुत बजेटमा चालू तर्फ १८ करोड विनियोजन गरेको, नगरपालिका केन्द्रको कार्यक्रमका लागि १४ करोड ७४ लाख, नगरस्तरिय प्राथमिकतामा रहेका योजना तथा कार्यक्रमहरु का लागि आठ करोड २५ लाख र वडाहरुका लागि पाँच करोड विनियोजन भएको छ ।
वडागत गौरवका आयोजनाका लागि सात करोड २० लाख विनियोजन भएको छ । सबै शाखाहरुबाट हुने खर्च दुई करोड ३५ लाख रहेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि निशुल्क रक्त सञ्चार कार्यक्रम असार रक्तदाता उत्प्रेरणा कार्यक्रम, सडक मानवमुक्त नगरपालिका घोषणा कार्यक्रम, मेयर तथा उपमेयर कप लगायत अन्यले खेलकुदका कार्यक्रम, साहित्य, कला, संस्कृति संरक्षणका लागि बजेट विनियोजन गरेको छ ।

यसका साथै टीकापुर अस्पतालमा विशेषज्ञ सेवा, जनतासंग मेयर उपमेयर कार्यक्रम, हाम्री छोरी प्यारी छोरी कार्यक्रम, होम टू हस्पिटल कार्यक्रमलाई निरन्तरता दिएको छ ।
नगरसभाले छलफलपछि नगरपालिकाको आर्थिक बिधेयक, २०८२ र विनियोजन विधेयक, २०८२ बहुमतले पारित गरेको छ ।
आर्थिक विधेयकमा विभिन्न क्षेत्रमा लाग्दै आएको सम्पत्ति करमा केही हेरफेर गरेको छ । जस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको स्वामित्वमा रहेको घर र जग्गा, सरकारी अस्पतालको घर र घरजग्गा, गुठीको समितिमा रहेका घर र जग्गा, मुनाफाको उद्देश्य नराखी सञ्चालन गरिएको सरकारी शिक्षण संस्था, कम्पनी समिति,प्राधिकरण बोर्ड र सरकारी संस्थानको घर र घरजग्गा, मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका संघ संस्थाको घर र घरजग्गा।धार्मिक संस्था मन्दिर, गुम्बा, चर्च, मस्जिद आदिको घर र घरजग्गा, खानेपानी सङ्कलन पोखरी, विद्युतगृह, मसानघाट, कब्रिस्तान, विमानस्थल, बसपार्क रंगशाला, उद्यान पार्क जस्ता सार्वजनिक उपयोगका स्थलहरूमा सम्पत्ति कर नलाग्ने भएको छ । यसका साथै टीकापुर नगरपालिका क्षेत्र भित्र टाँगा, रिक्सा, अटो रिक्सा र ई रिक्सा जस्ता सवारी साधनमा सवारी साधन कर लगाइने भएको छ ।
नगरपालिकाको आर्थिक विधेयकमा एकल महिला र ख वर्गको अपाङ्गता भएका व्यक्तिहरुले चालु आर्थिक वर्षबाट सञ्चालन गर्ने नयाँ उद्योग व्यवसायको हकमा पहिलो वर्षको वार्षिक व्यवसाय करमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । कृषि सिँचाइ प्रयोजनका लागि कृषि विद्युत मिटर जडानमा जडान, सिफारिस दस्तुरमा ५० प्रतिशत छूट दिइनेछ । आर्थिक विधेयकमा आर्थिक विधेयक माथिको छलफलमा सभा सदस्य गणेश घर्ती मगर र भरत बहादुर साउद सहभागी हुनुभएको थियो ।
सभाध्यक्ष तथा नगर प्रमुख रामलाल डगौरा थारुले सभा सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।