टीकापुर, २३ माघ\टीकापुर बहुमुखी क्याम्पसले आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा क्याम्पस को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख ढविन्द्रबहादुर रावलले क्याम्पसमा स्नातक र स्नातकोत्तर गरी १ हजार २६२ जना विद्यार्थीहरु रहेको जानकारी गराउनु भएको छ ।
क्याम्पसले २४ औं वार्षिकोत्सव मनाउँदै गर्दा स्थायी, पूर्णकालिन र आंशिक करार गरी ४० जना प्राध्यापक र १७ जना कर्मचारी गरी जम्मा ५७ जना जनशक्ति कार्यरत रहेको जानकारी गराईएको छ । क्याम्पसमा अहिले ८ जना विद्यावारीधी गरेका र ६ जना विद्यावारीधी गर्दै गरेको जनशक्ती रहेको समेत क्याम्पस प्रमुख रावलले जानकारी गराउनु भयो ।
वार्षिकोत्सवमा क्याम्पसले प्रकाशन गरेको जर्रनल अफ टीकापुर मल्टिपल क्याम्पसको ९ औं अंक र टीएमसी सौगातको १६ औं अंकको लोकापर्ण गरिएको छ । यसका साथै गत आर्थिक वर्षमा क्याम्पसको ५ करोड, ४१ लाख, ४० हजार ५५५ रुपैया आम्दानी भएको, ५ करोड ४८ लाख ७८ हजार २७४ रुपैया खर्च भएको र आम्दानी खर्चको अवस्था हेर्दा ७ लाख ३७ हजार ७१९ रुपैया क्याम्पसले तिर्नु पर्ने दायित्व देखिएको समेत जानकारी गराईएको छ ।

क्याम्पस प्रमुख रावलले क्याम्पस स्थापना भएको २५ वर्ष पुगेको अवसरमा अर्को वर्ष रजत वर्ष मनाईने र त्यसको तयारी यसै वर्षदेखि शुरु हुने जानकारी गराउनु भयो ।
कार्यक्रमका प्रमुख अथिति सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले टीकापुर बहुमुखी क्याम्पसका लागि यसको अतिक्रमित जग्गा मुख्य समस्या भएको बताउँदै त्यसको निकासको लागि विश्वविद्यालयले पहल गरिरहेको र यहाँका नागरिकहरुले पनि त्यसमा साथ दिनुपर्ने बताउनु भयो ।
सुदुरपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर विनोद लेखकले टीकापुर बहुमुखी क्याम्पसको विकासको लागि आवश्यक सहयोग गर्ने बताउँदै त्यसको लागि आफ्ना शैक्षिक विकासका कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
वार्षिकोत्सव कार्यक्रममा सुदुरपश्चिम प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य प्राध्यापक डाक्टर जगत बहादुर सिंह रावल, समाजसेवि श्याम खत्री, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल, विरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारी, खड्ग मेमोरीयल स्कुलका प्रधानाध्यापक हिरण्डे प्रसाद शर्मा, प्राध्यासक संघका सभापति प्रेम प्रसाद भण्डारीले शुभकामना मन्तव्य राख्नुभयो ।
यसैगरी स्ववियु सभापति किरण साउँद, पूर्व स्ववियु सभापति नृपजंग थापा,नेविसंघका मिनराज साउँद, अनेरास्ववियुका यमराज साउँद, अखिल क्रान्तिकारीका मिनबहादुर खड्का, नागरिक विद्यार्थी समाजका अशोक चौधरी ले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
सहायक क्याम्पस प्रमुख आत्माराम अधिकारीले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन उमाकान्त भण्डारी, पार्वती खनाल र कल्पना साउँले गर्नु भएको थियो ।