टीकापुर महोत्सव २०८१ सम्पन्न,यहाँका साथीले कस्तुरी नचिनेको जस्तो लाग्यो : प्रदेश प्रमुख मिया

टीकापुर, ७ माघ/सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले कस्तुरी नचिनेको  भन्दै टीकापुरको महत्व बुझ्न आग्रह गर्नुभएको छ । उहाँले यस्तो कुरा आइतवार टीकापुर मा सञ्चालित टीकापुर महोत्सवको समापन कार्यक्रममा बताउनु भएको हो । ‘‘नेपालका कुनै पनि पार्क किनारमा नदी छैन । यहाँ पार्क किनारमा कर्णाली नदी छ यो सम्पत्ती हो’’, मियाले भन्नुभयो ‘‘यो धेरै सम्भावना भएको क्षेत्र टीकापुर पार्क र शहरको जति चर्चा हुनुप¥थ्यो, त्यसो हुन सकेन ।’’ उहाँले पार्क प्रचार गरी विकास गरेमा यहाँ ब्यापारी, उद्योगी आफैँ आउँछन्, टीकापुरको पहिचान गर्नुपर्ने छैन, व्यवस्थापन गर्नमात्र बाँकी छ भन्नुभयो । स्थानीय र केन्द्रदेखि अघि बढाउन प्रदेशको ऐक्यबद्धता रहनेछ भन्दै सुदूरपश्चिम प्रदेश धेरै सम्भावना भएको प्रदेश हो भन्नुभयो ।


समापनमा प्रमुख अतिथि रहनुभएका मियाले महोत्सव सफल बनाउन मेहनत गर्ने सबैलाई धन्यवाद तथा बधाइ दिनुभयो ।
‘‘टीकापुर आउने मन थियो, बोलाउनु भयो, धन्यवाद दिन चाहन्छु’’, मियाले भन्नुभयो,‘‘ टीकापुर पार्क गए हेरे, टीकापुर सम्भावना भएको ठाउँ हो । टीकापुर पार्क चर्चित ठाउँ हो ।’’
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तिलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

महोत्सवमा साढे ५६ लाखको टिकट बिक्री 

टीकापुर महोत्सव २०८१ मा सिजनल टिकट बाहेक ५६ लाख ६४ हजार ५ सय रुपैयाँको टिकट बिक्री भएको छ । अघिल्लो वर्षको महोत्सवमा ६८ लाख रुपैयाँको टिकट बिक्री भएको थियो । यस वर्षको महोत्सवमा सबैभन्दा बढी नायक पल शाह आएको दिन ५ गते १६ लाख २० हजार ५ सय रुपैयाँको टिकट बिक्री भएको छ । 
गत वर्षको महोत्सवमा पल शाह आएको दिन १९ लाख ९८ हजारको टिकट बिक्री भएको थियो । गत वर्षको तुलनामा टिकटबाट साढे १२ लाख रुपैया कम आम्दानी भएको देखिन्छ । महोत्सव भव्य बनाउन संघका पदाधिकारीले मेहनत गरे पनि स्टलमा नयाँ आकर्षक केही देख्न पाइएन । विगत वर्षकै निरन्तरता भएका कारण पनि अबलोकनकर्ता घटेको अनुमान गरिएको छ । महोत्सवमा यस पटक कलाकार धेरै आएका थिए । महोत्सवमा स्थानीयलाई प्राथमिकता दिएर कार्यक्रम गरेको पाइदैन ।  
टीकापुर उद्योग बाणिज्य संघले वि।सं।२०६५ सालदेखि शुरु गरेको महोत्सव कोरोनाकालमा दुई पटक रोकिएको थियो । महोत्सव मार्फत यस क्षेत्रका मुख्य माग राख्ने गरिएको छ भने यहाँ उत्पादन भएका बस्तुको बजारीकरण गर्ने नीति संघले लिएको थियो ।
वर्ष दिनमा एकपटक यहाँका नागरिक रमाउने वातावरण महोत्सवले  बनाएको      छ । महोत्सवमा थारु समुदायको खानाको परिकार मनग्य बजारीकरण हुँदै आएको छ । थारु गाउँमा राखिएका हरेक स्टल भरिभराउ देखिन्थे । महोत्सवमा राखिएका व्यापारिक स्टलहरुबाट यस क्षेत्रका नागरिक ले सिक्ने अवसर समेत पाउने गरेको संघका महासचिव नवराज रिमालले बताउनुभयो । यस वर्ष तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने संघले अपेक्षा गरेको       थियो । वर्तमान कार्यसमितिको तीन वर्षे कार्यकालको यो अन्तिम महोत्सव हो ।

कार्यक्रममा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, झाकी प्रदर्शन गर्ने संघसंस्था तथा ब्यक्तिलाई समेत पुरस्कार तथा सम्मान गरिएको छ ।
वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाको अध्यक्षता मा भएको कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष लक्ष्मण थापा, नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज दयाराम सञ्याल, नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र साउँद, नबिल बैंक टीकापुरका प्रवन्धक जनकराज ओझा, टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी, वाणिज्य संघका पूर्व अध्यक्ष नरेशकुमार खत्री लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत पूर्व अध्यक्ष रामबहादुर भण्डारीले गर्नुभएको थियो भने सञ्चालन महासचिव नवराज रिमाल र माधबी घर्तीमगरले गर्नुभएको थियो ।