टीकापुर, १६ भाद्र/नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले बैंकमा पैसा थुप्रिदा पनि व्यवसायीले ऋण लिएर लगानी गर्ने अवस्था अझै नरहेको बताउनुभएको छ ।
टीकापुर उद्योग वाणिज्य सङ्घको २६ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष वैद्यले उपभोक्तासँग पैसा नभएको ले हाल ४० प्रतिशत मात्रै व्यापार भइरहेको हुँदा अझै मन्दी नहटेको बताउनुभयो ।
उहाँले कोभिडका बेला धराशायी भएको व्यापार बैंकहरू ले ब्याज बढाएर र नीति परिवर्तन गरेर तीन वर्षको ब्याज एकैचोटी तिर्नु पर्दा व्यवसाय धारासायी भएको बताउनुभयो ।
उहाँले ऋण लिँदाको ब्याजदर निश्चित अवधिभरि परिवर्तन गर्न नहुने राष्ट्र बैंकको नीति आएपछि मात्रै ऋण लिएर लगानी गर्ने अवस्था आउने बताउनु भयो । वैद्यले पोकामा सामान बोकेर भन्सार चुहावट गर्नेलाई नेपालको भन्सार नीतिले नियन्त्रण गर्न नसकेकाले बिना दर्ताका पोके र घुमन्ते व्यवसायीलाई रोक्नुपर्ने बताउनुभयो । देशभित्र अन्डरबिलिङ रोकिए पनि भन्सारबाट आउने सामानमा अझै केही कायम रहेकोले महासङ्घ यसको लबिङमा लागिरहेको बताउनुभयो ।

साधारण सभाको उद्घाटनमा सत्रमा नगरपालिकाको सटरमा बसेका व्यवसायीहरूले भाडा समायोजन गर्न उद्योग वाणिज्य संघले निर्णायक भूमिका नगरेको भनी विरोध जनाएका छन् ।
टीकापुर नगरपालिकाका पूर्व प्रमुख तपेन्द्रबहादुर रावलले तर्फबाट आफ्नो कार्यकालमा भाडा समायोजन गरेको तर त्यो भन्दा पछि आएको कानुनी अड्चन लाई सरकारी निकायले गाँठो फुकाउन कोसिस गर्नुपर्ने बताउनुभयो । उहाँले टीकापुर उद्योग वाणिज्य सङ्घले हालसम्म गरेका उपलब्धिलाई रक्षा गर्ने नेतृत्व चयन गरी जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने र व्यवसायीहरू ले उद्यम व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै विकास निर्माणको लविङको जिम्मा अब जनप्रतिनिधि लाई छोडीदिनुपर्ने बताउनुभयो । जानकी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीपकुमार चौधरीले पनि जनप्रतिनिधि नभएको बेलाको जस्तो जिम्मेवारी व्यापारीहरूले खोज्न नहुने र उत्पादन मूलक व्यवसायमा लाग्न सुझाव दिनुभयो ।
टीकापुर नगरपालिकाका पूर्व उपप्रमुख केसरी रावल बिष्टले उद्योग वाणिज्य सङ्घले स्थापनाको २६ वर्षमा धेरै कामको अगुवाइ गरिरहेको सकेको बताउँदै खुला सिमानाका कारण टीकापुरमा भइरहेको लागू औषध ओसारपसारको व्यवसायीलाई रोक्नुपर्ने सुझाव दिनुभयो ।
उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उज्ज्वल कसजुले सुदूरपश्चिम प्रदेशमा गण्डकी प्रदेश जस्तै पर्ययटको संभावना औल्याउनु भयो । लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले स्थानीय विकासको लागि राजनीतिक दल र व्यवसायीबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल,वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा नेपाली काँगे्रसका नगर सभापति नरेश खत्री, नेकपा एमालेका नगर अध्यक्ष लक्ष्मण थापा, नेकपा माओवादी केन्द्रका धनसिंह साउद, नेकपा एकीकृत समाजवादीका महेश बुढा, नागरिक उन्मुक्ति पार्टीका गोपाल थापा, नेपाल समाजवादी नयाँ शक्ति पार्टीका वीरेन्द्र साउद, संघका पूर्व अध्यक्ष राजकुमार हमाल लगायतले साधारण सभाको सफलताको शुभकामना दिनुभएको छ ।
वस्तुगत सङ्घका तर्फबाट बोल्दै साइकल व्यवसायी द्वारिका तिमिल्सिनाले वाणिज्य सङ्घले महोत्सव लगाएर रमाइलो गर्ने मात्र नभई व्यवसायको हक हितमा काम गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकामा भएका ५७ वटा सटरहरूको भाडा समायोजन र भन्सार व्यवस्थापनका बारेमा सङ्घको केन्द्रीय नेतृत्वलाई ज्ञापनपत्र दिनुभएको छ ।

सङ्घको साधारण सभामा गत आर्थिक वर्षको एक करोड ९८ लाख १३४ रुपैयाँको आय व्यय प्रस्तुत सार्वजनिक गरिएको छ । संघद्वारा प्रकाशित प्रतिवेदनमा महोत्सवबाट ९४ लाख ६० हजार ७५५ रुपैयाँ आम्दानी भएको, ७७ लाख २४ हजार खर्च भएको र १७ लाख ३६ हजार वचत विवरण प्रस्तुत गरिएको छ । सङ्घले चालु वर्षका लागि ४७ लाख ४२ हजार रूपैयाँको अनुमानित आयव्यय पेश गरेको छ ।
नयाँ नेतृत्व चयनका लागि सङ्घको मतदान कार्यक्रम भदौ २१ गते बिहान ८ बजे हुने समिति का संयोजक रघुनाथ उपाध्यायले जानकारी दिनुभयो ।
संघका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णप्रसाद बजगाईले गर्नुभएको थियो भने सञ्चालन महासचिव नवराज रिमालले गर्नुभयो ।
साधारण सभाको उद्घाटन सत्रमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । २०३८ सालदेखि सत्तीमा व्यापार गरिरहनुभएका भगीरथ मल अग्रवाललाई खड्ग स्मृति सम्मान र खगोलीय अध्ययनमा संलग्न युवा वैज्ञानिक अरुण लोहारलाई सम्मान गरिएको छ । यसैगरी विभिन्न सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू शशी चौधरी, रुपेश मगर, अस्मिता टमट्टा र अनिल चौधरीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
संघको बन्द सत्रका लागि गणपूरक संख्या नपुगेकाले भदौ १७ गते विहान ११ बजे संघकै कार्यालयमा बस्ने गरी स्थगित भएको छ ।