नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीद्वारा नौ बुंदे प्रतिवद्धता प्रस्तुत (पूर्णपाठ)

टीकापुर, ४ फागुन\नेपाली काँग्रेस प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार जनकराज चौधरीले चुनावी सङ्कल्प सार्वजनिक गर्नु भएको छ ।
आइतबार टीकापुरमा पत्रकार सम्मेलन गर्दे चौधरीले आफू विजयी भएमा शिक्षा, स्वास्थ्य, कृषि, युवालाई रोजगारी, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण र सुशासन कायम गर्ने लगायतका नौ बुँदा सार्वजनिक गर्नु भएको छ । ‘बदलियो काँगे्रस, बदल्छौंं देश’ भन्ने सङ्कल्पका साथ मतदाताप्रतिको दायित्व पूरा गर्न  आफ्नै निर्वाचन क्षेत्रमा साँस्कृतिक एकाडेमी, स्पोर्टस एकाडेमी स्थापना गर्ने, हरेक वर्ष एक सय युवालाई सहकारी र उद्यमशीलताका विकास गर्न ‘सिड मनी’ दिने, सांसद छात्रवृति कोषको स्थापना गरी गरिब, थारु, दलित, महिला तथा सिमान्तकृत विद्यार्थीलाई दिइने, प्रारम्भिक तहमा थारु भाषामा आधारित शिक्षा प्रदान गर्ने चौधरीले बताउनु भएको छ ।
चौधरीको सङ्कल्प पत्रमा टीकापुरमा सुख्खा बन्दरगाह निर्माणमा विशेष जोड दिने, व्यवस्थित बस्तीलाई योजनावद्ध बस्तीमा विकास गर्ने उल्लेख   छ । टीकापुरमा करीब पाँच हजारको सङ्ख्यामा भूमिहिन सुकुम्वासी मुक्तकमैंया विभिन्न शिक्षालयका जग्गामा बसिरहेका छन् । यस्तै सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गर्न लागेको टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि भूमिको व्यवस्था गर्ने पनि चौधरीको सङ्कल्प पत्रमा उल्लेख छ । कर्णाली कोरिडोर, सेती  राजमार्ग, टीकापुर अस्पताललाई १०० शैयाको बनाउने यहाँ खुलेका प्राविधिक शिक्षालयको स्तवृद्धिका लागि ठोस कार्यक्रम ल्याउने प्रतिवद्धता पनि उल्लेख छ ।
२०७० सालमा फोरम लोकतान्त्रिक पार्टीबाट यही क्षेत्रमा संविधान सभा सदस्य निर्वाचित हुनु भएका चौधरी हाल नेपाली काँगे्रस सुदूरपश्चिम प्रदेश कार्य समितिका उपसभापति हुनुहुन्छ । अघिल्लो निर्वाचनमा संविधान बनाउन व्यस्त भएको बताउनु भएका चौधरीले यसपटक विजयी भए शिक्षा, स्वास्थ्य, कृषि, युवालाई रोजगारी, पर्यटन, थारु सँस्कृतिको विकास गर्ने यस क्षेत्रका लागि सडक सिचाईका क्षेत्रमा काम गर्ने बताउनु भएको छ । चौधरी २०७० को संविधान सभा सदस्य निर्वाचित भइ संसदको वन वातावरण समितिको सभापति र स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो ।
(पूर्णपाठ)
हाम्रो दृष्टि (Our Vision):
सबै समुदायबिच आपसी सद्भाव, सम्मान एवं सहकार्य गर्दै कैलाली क्षेत्र नं. १ लाई शिक्षित, आत्मनिर्भर, समृद्ध, समावेशी र विकासोन्मुख निर्वाचन क्षेत्रका रूपमा विकास गर्नु नै हाम्रो साझा दृष्टि हो । विकास सबैका लागि, अवसर सबैका लागी र समुदायप्रति उत्तरदायी रहनु नै हाम्रो मूल मर्म (Core thought) हो । उल्लिखित दृष्टिलाई पूरा गर्नका लागि तपसिल बमोजिमका क्षेत्रमा दिगो विकासलाई अगाडि बढाइनेछ ।
१.शिक्षा (Education): गुणस्तरीय, पहुँचयोग्य र रोजगारीमूलक
                                                 “शिक्षा नै लोकतन्त्र र विकासको मूल आधार हो’’
प्रतिबद्धता (Commitment):
•यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधार, दक्ष जनशक्ति, डिजिटल कक्षा र अंग्रेजी तथा सूचना प्रविधि शिक्षामा जोड,
•स्थापित प्राविधिक शिक्षालय (CTEVT)  तथा  School of Agriculture (FWU),  प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटको स्तरवृद्धिमा ठोस कार्यक्रम ल्याउने,
•गरिब, थारू, दलित, महिला तथा सीमान्तकृत विद्यार्थीका लागि ‘सांसद छात्रवृत्ति कोष’ को स्थापना गर्ने र कार्यविधि बनाएर कार्यान्वयन गर्ने,
•सामुदायिक एवं सरकारी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, वीरेन्द्र विद्या मन्दिर क्याम्पस एवम् रघुनाथ बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार, प्रयोगशाला एवं पुस्तकालयलाई सुदृढीकरण गर्ने,
•बाल शिक्षामा मातृभाषा (थारू भाषा)मा आधारित शिक्षा प्रदान गर्ने,
•शिक्षा र रोजगारी बिच प्रत्यक्ष सम्बन्ध स्थापनामा जोड दिइने ।
२. कृषि : आत्मनिर्भरता र आम्दानीको आधार
              ‘कृषि अर्थ व्यवस्थाको मेरूदण्ड हो ।’
प्रतिबद्धताः
.रानी, जमरा, कुलरिया सिँचाइको विस्तार, कृषि यान्त्रिकीकरण र जलवायु अनुकुल (Climate Resilient) खेतीमा जोड,
•धान, गहुँ, मकै, तरकारी, माछापालन र पशुपालनमा व्यवसायिक कृषि प्रवर्धन गर्ने,
•संकलन केन्द्र, शितभण्डार र कृषि प्रशोधन उद्योगको स्थापना र बिस्तार गर्ने,
•किसानका लागि सहुलियत ऋण, बिमा र बजारको सुनिश्चितता गर्ने,
•थारू समुदायको परम्परागत कृषि ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्ने,
•युवालाई कृषि उद्यमशीलता (Agriculture Entrepreneurship)तर्फ आकर्षित गर्ने,
•टीकापुरमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको स्कुल अफ एग्रिकल्चरसँग समन्वय गरी किसानसँग सहकार्यात्मक कार्यक्रम ल्याउने,
•केरा खेती, तरकारी खेती, च्याउ खेती, डेरी उत्पादन, मत्स्यपालन जस्ता उच्च मूल्यात्मक उत्पादनमा वृद्धिका लागि सम्बन्धित निकायसँग नीति निर्माणको थालनी गर्ने,
•कृषिसँग सम्बन्धित Heating Mile  र माटो प्रयोगशाला स्थापना गर्ने ।
३. युवा तथा रोजगारीः विदेश होइन, गाउँमा अवसर । 
   “युवाको भविष्य सुरक्षित गर्नु हाम्रो प्राथमिकता हो ।’
•सिप विकास तथा उद्यमशीलता केन्द्र (Incubation Center)  को स्थापना गर्ने,
•विश्वविद्यालय अनुदान आयोगद्वारा टीकापुर बहुमुखी क्याम्पसमा स्थापना गरिएको Incubation Center  सँग सहकार्य गर्ने,
•क्याम्पसमा पढिरहेका विद्यार्थीका लागि (Earn and Learn)  कार्यक्रम लागु गर्नका लागि यस क्षेत्रमा रहेका क्याम्पसहरूसँग सहकार्य गर्ने,
•Learn and Earn  कार्यक्रम अन्तर्गत सिपमूलक कार्यक्रम जस्तैः Barista training, Digital Marketing, Data Analysis, Event Management, Hospitality, Graphic Designing  जस्ता अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन तालिम कार्यक्रम सञ्चालन गर्ने,
•सुदूरपश्चिम प्रदेश सरकारद्वारा स्थापना हुन गइरहेको टीकापुर प्राविधिक विश्वविद्यालयको स्थापनाका लागि भूमि एवम् पूर्वाधारको सुनिश्चितता गर्ने ।
•टीकापुरमा निर्माण भएको स्पोर्टस एकाडेमी सञ्चालन गर्न आवश्यक प्रबन्ध गर्ने,
•वैदेशिक रोजगारबाट फर्किएका युवाका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने,
•सार्वजनिक–निजी–साझेदारी (Public-Private-Partnership)  मार्फत रोजगारी सिर्जना गर्ने,
•श्रमिकको अधिकार र सामाजिक सुरक्षा सुरक्षित गर्नका लागि नीतिगत व्यवस्था गर्ने,
•Learn and Earn programs  अन्तर्गत हरेक वर्ष सय जना युवालाई कृषि स्टार्टअप, सहकारी, उद्यमशीलताका लागि ‘सिड मनी’ उपलब्ध गर्नका लागि छुट्टै कार्यविधिको निर्माण गर्ने ।
४. पर्यटनः संस्कृति, प्रकृति र रोजगारी ।
         ‘अतिथि देव भवः’
.टीकापुर पार्क, डल्फिन क्षेत्र, राजकाँडा, घोडाघोडी ताल, बर्दिया राष्टिूय निकुञ्ज एवं चिसापानी क्षेत्र जोडेर एक पर्यटकीय सर्किटको निर्माण गर्ने,
•थारू सांस्कृतिक पर्यटन, होमस्टे र ग्रामीण पर्यटन प्रवर्धन गर्ने,
•कैलाली क्षेत्र नं.१ मा सांस्कृतिक एकाडेमी (शिक्षालय) स्थापना गर्ने,
•कैलालीमा उडान तालिम विद्यालय (School of Aviation)  स्थापना गर्ने,
•पर्यटन पूर्वाधार, सडक, सुरक्षा र अतिथि सत्कार तालिम सञ्चालन गर्ने,
•पदमप्रकाशेश्वर, कैलाशेश्वर आदि धार्मिक धरोहरको विकासमा जोड दिई धार्मिक पर्यटनको विकास गर्ने,
•नैमिषारण्यदेखि मानसरोवर सम्मको धार्मिक रूटको अन्तर्राष्ट्रियकरण गर्ने,
•यस क्षेत्रमा स्थापित चर्च, मदरसा,मन्दिर, गुम्बाको विकास गरी धार्मिक सहिष्णुतामा जोड दिने,
•यहाँका पर्यटकीय गन्तव्यलाई सांस्कृतिक, प्राकृतिक गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने,
•होली, भुवा, पुतला, मारूनी लगायत संस्कृतिको संरक्षण, सम्वर्धन गर्ने ।
५. थारू, संस्कृति र सामाजिक समावेशीकरण
   ‘पहिचान र सम्मानसहितको विकास
•थारू भाषा, संस्कृति, कला र पर्वहरूको संरक्षण एवम् सम्वर्धन गर्ने,
•थारू सांस्कृतिक केन्द्र र सङ्ग्रहालय स्थापना गर्ने,
•विकास प्रक्रियामा समान सहभागिता र प्रतिनिधित्वमा जोड दिने,
•सबै समुदायबिच सामाजिक सद्भाव मजबुद बनाउने ।
६ः स्वास्थ्यः सबैका लागि पहुँचयोग्य सेवा
‘स्वास्थ्य नागरिकको मौलिक अधिकार हो’
•टीकापुर अस्पताललाई १०० शैयामा स्तरवृद्धि गरी विशेषज्ञ सेवामा जोड दिइने,
•यस क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धि गर्ने,
•चिकित्सक, औषधी र मातृशिशु स्वास्थ्य सेवामा सुनिश्चितता,
•स्वास्थ्य बिमामा विपन्न वर्गको पहुँचलाई सहज बनाउने,
•महिला, बालबालिका एवं ज्येष्ठ नागरिकले पाउने सेवा सुविधालाई सहज बनाउने,
•योग, व्यायामशाला तथा खुल्ला व्यायामको विकास र विस्तारमा जोड दिने,
•महिला स्वास्थ्य स्वयम्सेविकालाई थप प्रभावकारी बनाउन नीतिगत व्यवस्था गर्ने ।
७. पूर्वाधारः सडक, खानेपानी र प्रविधि
    ‘सन्तुलित र दिगो विकास’
•टीकापुर–सनकट्टी, टीकापुर–जोशीपुर–भजनी र टीकापुर–झबही–वनकट्टा–बौनियासम्मको सडकलाई आस्फोल्ड कालोपत्रेमा स्तरवृद्धि गर्ने,
•टीकापुरदेखि टीकापुर पार्क हुँदै दौलतपुर घाटसम्म सुविधा सम्पन्न सडकको निर्माण गर्ने,
•टीकापुर नगरपालिका अन्तर्गत रहेको रिङरोडको निर्माण ५ वर्षभित्र सम्पन्न गर्ने,
•टीकापुर–जगतपुर–कटासे हुँदै पूर्वपश्चिम राजमार्गसम्मको पहुँच सडक (केशर राजमार्ग) निर्माण गर्ने,
•रानी, जमरा, कुलरिया सिँचाइ परियोजनाको थप विस्तारमा जोड दिने,
•रानी, जमरा, कुलरिया सिँचाइ परियोजनबाट उत्पादित विद्युतमा स्थानीयबासीको स्वामित्व (शेयर) स्थापित गर्ने,
•सेती लोकमार्गको निर्माणमा तीब्रता प्रदान गर्ने,
•चिसापानी–जङ्गलघाट हुँदै पहाडी जिल्लालाई जोड्ने सडक सम्पन्न गर्न पहल गर्ने,
•सबै मौसममा चल्ने कृषि रोडको निर्माणमा विशेष जोड दिने,
•विद्युत, वैकल्पिक ऊर्जा र इन्टरनेट सेवाको विस्तारमा जोड दिने,
•अव्यवस्थित बस्तीलाई पाँच वर्षभित्र योजनाबद्ध बस्तीमा विकास गर्ने,
•योजनाबद्ध बस्ती विकासका लागि सम्बन्धित निकायमा सहकार्य गर्ने,
•पारदर्शी र भ्रष्टाचारमुक्त पूर्वाधार निर्माणमा जोड दिने,
•कर्णाली करिडोर निर्माण गर्दै जल यातायात र जल पर्यटनको प्रवर्धन गर्ने ।
•दीर्घकालमा टीकापुर क्षेत्रमा सुख्खा बन्दरगाह ९म्चथ उयचत० निर्माणका लागि विशेष जोड दिइने,
•सत्ती भन्सारमा क्वारेन्टाइनको स्थापना यथासक्य चाडो गराउन जोड दिने ।
८. वातावरण र जलवायु संरक्षणः प्रकृतिसँगै विकास  ।
•वन, नदी र जैविक विविधताको संरक्षण गर्न जोड दिने,
•बाढी, कटान र जलवायु जोखिम न्यूनीकरण गर्नका लागि पहल गर्ने,
•फोहोर व्यवस्थापन एवं स्वच्छ ऊर्जा प्रवर्धनका लागि आवश्यक कार्य गर्ने,
•जलवायु परिवर्तनबाट प्रभावित किसानका लागि विशेष कार्यक्रम ल्याउने ।
९. सुशासनः जवाफदेहिता र पारदर्शी नेतृत्व
   ‘राजनीति सेवा हो, व्यापार होइन’
•भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता,
•नियमित जनसुनुवाई गर्ने,
•हरेक वर्ष ‘सार्वजनिक सांसद’ कार्यक्रम गर्ने,
•स्थानीय सरकारसँग प्रभावकारी समन्वय गर्ने,
•तथ्यमा आधारित नीति निर्माण गर्ने,
•सबै क्षेत्रमा न्यायोचित विकासका लागि विशेष जोड दिइने ।