टीकापुर,६ माघ/पतञ्जली योग समिति टीकापुरले सम्मान तथा पुरस्कार वितरण गरेको छ । समितिले विभिन्न प्रतियोगितामा वियजी र योग प्रशिक्षकलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । योग समिति टीकापुरका अध्यक्ष छविलाल जैसीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख सुदूरपश्चिम प्रदेश सदस्य तारा खरेल प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा विभिन्न प्रतियोगिता मा विजयी तथा योग प्रशिक्षक लाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै खरेलले यस वर्ष पतञ्जली योग समितिले तीन समूहमा योग प्रशिक्षक उत्पादन गरेको बताउनुभयो । पतञ्जली का टीकापुरमा ११ केन्द्र खुलेका छन् । योगमा सयौं नागरिक जोडिएका बताउँदै उहाँले आफूले योग थाल्दा कहिले बाटो तथा चौरमा शुरु गरिएको स्मरण गर्नुभयो । योग साधना अहिले विशाल भएको, टीकापुर योगाआश्रम सबैको साझा भएकाले, पतञ्जली, टीकापुर योगाश्रम र विश्व शान्ति योग आश्रम तीन वटा योगलाई एकिकृत गर्न योग शिक्षाको विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले योग साधक जुन ठाउँमा र जुन केन्द्रमा गए पनि हुने भएकाले आफूलाई पायक पर्ने ठाउँमा जान सुझाव दिनुभयो । ‘‘टीकापुर योगाश्रम सबैको साझा हो, त्यहाँ सबैको लगानी छ, सबैको सम्पत्ति हो’’, उहाँले भन्नुभयो, ‘‘सबैले अपनत्व महसुस गर्नुपर्छ । तीन योग समिति छन् जहाँ गए पनि
हुन्छ ।’’
कार्यक्रममा समाजसेवी भुवनेश्वर अधिकारीले योग साधना धैर्यता भएकाले मात्र गर्न सक्ने भएकाले योगमा जोडिएका मानिसहरुले स्वास्थ्य सुधारमा सकारात्मक कार्य गरेको बताउनुभयो । उहाँले योग शिक्षा नीति आवश्यक रहेको बताउँदै त्यसका लागि स्थानीय सरकारले काम गर्नुपर्ने मा जोड दिनुभयो ।
‘‘टीकापुरस्थित योग अनुसन्धान केन्द्र सबैको साझा सम्पत्ति हो, यसलाई सबैको हीतमा प्रयोग गर्न योग साधकहरु एक हुन आवश्यक छ’’, उहाँले भन्नुभयो, ‘‘योगका माध्यमले मानिसलाई निरोगी रहन गरिएका सबै कार्य सहनीय छन् ।’’
कार्यक्रम महासचिव ज्ञानु पौडेलले सञ्चालन गर्नुभएको थियो । स्वागत कोषाध्यक्ष उपेन्द्र खनालले गर्नुभएको थियो । कार्यक्रममा हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगितामा पुरस्कृत भएका योग प्रशिक्षक, अन्य योग प्रशिक्षकहरुलाइ पुरस्कार वितरण गरिएको छ ।
प्रशिक्षक सर्वनन्द चपाइले गत वर्ष र यस वर्ष गरिएको सहयोग शिक्षक तालिममा सक्रीय सहभागिता रहेकोमा धन्यवाद दिनुभयो ।