सम्पादकीय
नेपालको राजनीतिमा सुद्धिकरणको आवश्यक्ता छ । प्रजातन्त्र ल्याउन होस् या गणतन्त्र ल्याउनमा होस् धेरैको योगदान छ । जानेर होस् या नजानेर होस् योगदान दिएका छन् । योगदान गरेकाहरु कतिपय ओझेलमा परेका छन् भने कतिपय सत्ताको रापतापमा छन् । सत्ताको रापतापमा मस्त भएकाहरुले एउटा झुण्ड बनाएर पार्टी कव्जा गर्दै गएका छन् भने नेतृत्वलाई आफ्नो स्वार्थ अनुकुल हिडाउने गरेका छन् । झुण्डले नेतृत्वलाई स्वार्थ अनुकुल हिडाउँदा इमान्दार नेता र कार्याकर्ता ओझेलमा परेका छन् । इमान्दार र निष्ठावान नेता कार्यकर्ता ओझेलमा पर्दा समाज भ्रष्ट भएको छ । भ्रष्ट र अपराधीलाई बचाउने काम नेतृत्वले गरेपछि पूरै समाज भ्रष्टिकरणतर्फ लाग्न थालेको छ । यस्तो अवस्थामा जे गरेपनि हुन्छ भन्ने मानसिकताको विकास भएको छ । वेथितीले गर्दा समाजमा अराकजता बढ्दै गएको पाइन्छ । अराजक हुनुको कारण जनआक्रोस र निरासाले हो । केन्द्र देखि नै भ्रष्टाचार मौलाएको छ भने सामाजमा भ्रष्टहरुको बोलवाला बढ्न थालेको छ । हरेक पार्टीमा भ्रष्टहरु हावी भएका छन् । नेतृत्वले भ्रष्टहरुलाई पाखा लगाउनुको साटो अघि लगाउने गरेको छ ।भ्रष्टहरुलाई स्थान नदिने हो भने समाजमा पनि त्यहि खालको सन्देश जाने थियो । तसर्थ पार्टीलाई बलियो बनाएर गणतन्त्र बलियो बनाउनमा लाग्ने हो भने भ्रष्ट प्रबृत्तिका मान्छेलाई पाखा लगाउन जरुरी छ । भ्रष्टहरु कसैका हुँदैनन् । भ्रष्टहरुको एउटै उदेश्य हो समाजमा द्वन्द बढाएर आफ्नो स्वार्थमा नेताहरुलाई घुमाउने । पार्टीको नेतृत्वले समयमै ध्यान दिन जरुरी छ ।