सम्पादकीय
स्थानीय पालिकामा यति बेथिति बढ्दै छ । हरेक बर्ष खरिदमा लाखौं रुपैया खर्च गर्ने गरिएको छ । कार्यालय प्रयोजनका लागि भन्दै सामाग्री खरिद गर्ने प्रबृत्ति बढ्दै गएको छ । मनपरी सामाग्री खरिद गर्ने गरिएको छ । मिलोमतोमा खरिद गरेर कमिसन खाने प्रचलन बढ्दै गएको छ । ठोस योजना केही नल्याउने बजेट सक्ने योजना तमाम तयार हुन्छन् । जसरी पनि जनप्रतिनीधि र कर्मचारीको खल्तीमा पैसा आउनुप¥यो भन्ने सोच भएकै कारण स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको छ । भ्रष्टाचार बढेपनि बाहिरबाट निगरानी गर्ने कोही छैन । राजनीतिक दलका नेताहरु सहयोग लिने र चुपचाप बस्ने गरेका छन् । सिंहदरबारको अधिकार गाउँ गाउँमा आयो भनेर नेपाली नागरिक खुसी भए तर पछिल्लो समय भ्रष्टाचार पनि संगसंगै आयो भनेर आक्रोसित भएका छन् । अधिकार प्रयोग गर्दा अधिकारको दुरुपयोग भइरहेको बर्तमान अवस्थामा राजनीतिक दलका नेताहरु गम्भिर नहुँदा जनप्रतिनीधि पनि छाडा भइरहेका छन् । हरेक व्यक्ति भ्रष्ट छन् भन्नुपर्ने अवस्था छ । संघ संस्थामा गएका अधिकांस व्यक्ति पनि त्यस्तै छन् । बेरोरजगार व्यक्ति सामाजिक हुँ भन्दै अघि सरेपछि नेपाली समाजले अराजकता भोग्नुपरेको छ । अराजकता बढ्दै जाँदा आपसमा द्वन्द बढ्दै गएको मात्र छैन आपसमा अबिश्वास बढ्दै गएको छ । समाजमा सद्भाव कायम गर्न पनि भ्रष्टाचार रहीत समाज निर्माणमा लाग्नुपर्छ । भ्रष्टाचार र बेथिति देखेर पनि चुपचाप लाग्नेहरुकै कारण समाज थप समस्यामा पर्दै गएको छ । गलत कुराको बिरुद्ध नबोल्ने अनी चिया पशलमा नाना थरी कुरा गर्नेहरु पनि समस्या हुन् । तसर्थ पालिकामा भइरहेको बेथिति रोक्न सामाजिक अगुवा निस्वार्थ भएर लाग्न जरुरी छ ।