टीकापुर,९ फागुन/टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव शुरु हुने भएको छ । महोत्सव ३ दिनसम्म चल्ने छ । महोत्सवको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुहुने कार्यक्रम रहेको
छ ।
महोत्सवको उद्घाटनपछि स्वर्ण स्तम्भको अनावरण र लाईब्रेरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही दिन सम्मानित हुने २ सय बढीलाई अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ । महोत्सवमा अर्थ, साहित्य, पर्यटन प्रवद्र्धन र शिक्षा सम्बन्धी ४ विषयमा अन्र्तक्रिया तथा बहस हुनेछ । यसकासाथै पूर्व विद्यार्थी मिलन कार्यक्रम समेत गरिने जानकारी दिइएको छ ।
बहसका कार्यक्रम १० र ११ गते हुनेछन् । कार्यक्रमलाई व्यबस्थित गर्न गुठियार प्रमुख नवराज रावलको अध्यक्षतामा एक सय ४२ सदस्यीय समिति गठन गरिएको छ । महोत्सवमा विद्यालयको इतिहास झल्कने गरी स्मारिका प्रकाशन गर्न लागिएको छ ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा करिब रु। ७० लाखका संरचना निर्माण भएका छन् । यसरी निर्माण हुने संरचनामा विद्यालयको खर्चबाट नभइ अन्यत्रबाट स्रोत जुटाएर गरिएको छ ।
विद्यालयमा व्यवस्थित स्टाफ हल तयार गरिएको छ भने ३ वटा शौचालय निर्माण गरिएको छ । तयारीका क्रममा फागुन ७ गते विद्यालय वरपर २ सय वटा बिरुवा लगाइएका छन् । विद्यालय ले महोत्सव गर्न थालेपछि टीकापुरमा उत्साह छ । टीकापुरमा बस्ती बसाल्न भूमिका भएको विद्यालयका बारेमा हरेकले चासो राखेको पाइन्छ । महोत्सवलाई टीकापुरबासीले विकाससँग जोड्न थालेका छन् ।
उनीहरुले सहरी मन्त्री आउने भएपछि टीकापुर स्र्माट सिटीको थप पहल हुन्छ की भन्ने आशा गरेका छन् । स्मार्ट सिटी घोषणा भए पनि बजेट आएको छैन । महोत्सवको अवसरमा सहरी विकास मन्त्री टीकापुर आएका बेला टीकापुर ‘स्मार्ट सिटी’ को पहल गरिदिन मन्त्रीसंग यहाँका राजनीतिक दलका नेता तथा सामाजिक अगुवाले माग राख्नुपर्ने आवाज उठिरहेको छ ।
‘‘यो अवसर पनि हो, स्मार्ट सिटी सहरी विकास मन्त्रालयले घोषणा गरेको हो, बजेट नियमित गर्न सबैले मन्त्रीसंग आवाज उठाउन जरुरी छ’’, नेपाली काँग्रेसका नेता निर्मला कडायतले भन्नुभयो, ‘‘विकासका सवालमा टीकापुर ठगिदै आएको कुरा मन्त्री ज्यूलाई जानकारी गराउनुपर्छ ।
उहाँले स्मार्ट सिटी घोषणा भए पनि बजेट नआउँदा टीकापुरबासीले ठगिएको महसुस गरेका छौँ भन्नुभयो । ‘‘टीकापुरको योजनाका बारेमा सहरी विकास मन्त्रीलाई बुझाउन सक्ने र टीकापुर एक भएर आवाज उठाउने हो भने बजेट पर्छ’’, उहाँले भन्नुभयो ।