भ्रष्टहरुलाई बहिस्कार गर्ने अवसर

सम्पादकीय

नेपालको राजनीतिमा भ्रष्टहरु हाबी हुँदा सिगाें देशको बद्नाम त भयो भयो देशको अर्थतन्त्र पनि तहस नहस भयो । माथि देखि तलसम्म भ्रष्टहरुको हालिमुहाली हुँदा विकास बजेट चरम दुरुपयोग भयो । हरेक पार्टीमा भएका भ्रष्टहरुलाई पाखा लगाउने अवसर भनेको निर्बाचनमा हो । पुराना दलमा मात्र हैन नयाँमा पनि आचरण बिग्रेका उम्मेदवार छन् । जनताले भोट दिदा भ्रष्टहरुलाई बहिस्कार गर्नेगरी दिनु  पर्छ । उम्मेदवारसंग स्थानीय भ्रष्ट र आचरण बिग्रेका मान्छे आए त्यस्तालाई पनि बहिस्कार गर्न जरुरी छ । जेनजीको आन्दोलनपछि भ्रष्टाचारका बारेमा नागरिक सचेत भएका छन् । नागरिक सचेत भएपनि भोट माग्दा छलछाम हुने गरेको छ । बिभिन्न कारणले भ्रष्टहरु बिजयी हुने गर्छन । फागनु २१ मा हुने निर्बाचनमा भ्रष्टहरु संसदमा पुग्न नपाउन् भन्ने बारेमा जनता सचेत हुन जरुरी छ । नेपालमा भ्रष्टहरुको रजगज बढ्दै जानुको कारण हो राम्रा मान्छेहरु चुपचाप बस्नु । राम्रा मान्छेले अवसर पाउने वातावरण छैन पाए भनेपनि काम गर्ने वातावरण छैन । भ्रष्टाचारमा समाजका अधिकास मान्छे लिप्त छन् यस्तो अवस्थामा राम्रा मान्छेले काम गर्न पाउने कुरै भएन । हरेक क्षेत्रमा भ्रष्टाचार बढ्दै गएको कुरा हुन्छ तर रोक्ने सवालमा तै चुप मैचुप हुने गरेका छन् । गलत काम रोक्नु सबैको कर्तव्य हो । गलतले प्रसय पाइरहने अनी राम्रो होस् भन्ने चाहना कसरी पूरा हुन्छ ? राम्रो हुनका लागि राम्रा मान्छेले अवसर पाउनुपर्छ । समाजमा पछिल्लो समय भ्रष्टहरु हाबी हुँदा सामाजिक अराजकता बढ्दै गएको छ । अराजकता बढ्दै जाँदा आपसमा द्वन्द बढ्न थालेको छ । द्वन्द व्यबस्थापन गर्ने सवालमा राजनीतिक दलका नेताहरुले ध्यान दिएको पाइदैन । हरेक पार्टीमा भ्रष्टहरु बलियो भएर बसेको पाइन्छ । पार्टीको नेतृत्वमा पहँुच पु¥याएर राज्य लुट्ने काम भइरहेको छ तर नेतृत्वले तिनैलाई बिश्वास गर्दै बसेको अवस्था छ । राजनीतिमा शुद्धताको कुरा छैन । शुद्धताको कुरा गर्नेहरुलाई पाखा लगाउने प्रचलनले भ्रष्टाचारीको मनोबल बढ्दै गएको छ । भ्रष्टहरुले को राम्रा छन् भनेर प्रश्न गर्छन् ? तर तिमि यस कारणले खराब छौ भनेर कोही बोल्दैन । समाजले बहिस्कार गर्नुपर्ने सामाजिक अगुवालाई नेतृत्व दिदै जाँदा नेपाली समाज दिन प्रतिदिन भ्रष्टाचारमा फस्दै गएको प्रष्ट छ । भ्रष्टहरुको मनोबल बढ्न दिने काम कसैबाट गर्नुहुँदैन । समाजमा राम्रा अगुवा उत्पादन गर्ने काम त्यही समाजको हो ।