टीकापुर, ३ माघ/टीकापुरमा पुस २५ गतेबाट सञ्चालित महोत्सवमा एकैदिन ९ लाख १६ हजार ७ सय रुपैयाको टिकट बिक्री भएको छ । माघ १ गतेका दिन यति रकमको टिकट बिक्री भएको नेपाल रेडक्रस सोसाइटी टीकापुरले जनाएको छ । ‘‘अहिलेसम्म २० लाख ३४ हजार २ सय रुपैयाको टिकट बिक्री भएको छ, सबैभन्दा बढी १ गते भएको छ भने सबैभन्दा कम २६ गते एक लाख २९ हजार ४ सय रुपैया भएको छ’’, रेडक्रसमा कार्यरत कर्मचारी प्रभु न्यौपानेले भन्नुभयो ।
यसैगरी २७ गते ४ लाख ३७ हजार ३ सय, २८ गते एक लाख ९९ हजार ५ सय र २९ गते ३ लाख ५१ हजार ३ सय रुपैयाको टिकट बिक्री भएको छ ।

महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारले मनोरञ्जन प्रदान गरिरहेका छन् । यस वर्ष करिब ४० जना राष्ट्रिय कलाकार महोत्सवमा आउने भएका छन् । टीकापुर उद्योग बाणिज्य संघले वि।सं।२०६५ सालदेखि शुरु गरेको महोत्सव कोरोनाकालमा दुई पटक रोकिएको थियो । महोत्सव मार्फत यस क्षेत्रका मुख्य माग राख्ने गरिएको छ भने यहाँ उत्पादन भएका बस्तुको बजारीकरण गर्ने नीति संघले लिएको छ ।
वर्ष दिनमा एकपटक यहाँका नागरिक रमाउने वातावरण महोत्सवले बनाएको छ । महोत्सव मा थारु समुदायको खानाको परिकार मनग्य बजारीकरण हुँदै आएको छ । थारु गाउँमा राखिएका हरेक स्टल भरिभराउ देखिन्छन् । महोत्सवमा राखिएका व्यापारिक स्टलहरुबाट यस क्षेत्रका नागरिकले सिक्ने अवसर समेत पाउने गरेका छन् ।
पछिल्लो समय महोत्सवका बारेमा गुनासो बढ्न थालेको छ । नयाँ पन केही नहुने कलाकार ल्याएर मनोरञ्जन गर्ने गरिएको भए पनि महोत्सव थप आकर्षक बनाउन संघका पदाधिकारीले मेहनत गरेको पाइदैन । कृषि क्षेत्रको स्टल हेर्दा कृषि क्षेत्रलाई महत्व नदिएको प्रष्ट हुन्छ ।
स्टलमा उत्पादन भएका उब्जनी राखिए पनि प्रतिस्प्रधात्मक रुपमा आफ्नो उत्पादन किसानले महोत्सवको स्टलमा राखेको पाइएन । स्टलमा आम उत्पादन देखियो तर बिगत झैँ ‘आहा’ कस्तो ठूलो या कस्तो राम्रो फलेको बिरुवा भनेर हेर्न पाइएन । यस क्षेत्रका उत्पादन बीच प्रतिस्पस्र्धा गराएर राम्रो पुरस्कार दिने व्बयस्था भए स्टलमा किसानको उत्पादन आउने थियो ।
महोत्सव आयोजक सञ्चार समितिका संयोजक प्रकाश तिमिल्सिनाले स्थानीय उत्पादन, थारु सांस्कृतिक संग्राहालय, विज्ञान प्रदर्शनीमा लोपोन्मुख डाइनोसर आकर्षणका रुपमा रहेका बताउनुभयो ।
‘‘कृषि प्रदर्शनीमा हामीले विषादी प्रयोग नभएका जैविक विषादी प्रयोग गरिएका अर्गानिक उत्पादन राख्न किसानलाई आग्रह गरेका थियौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘किसान उत्साहित नभएको होइन, उन्नत तथा स्थानीय जातका रासायनिक मल प्रयोग नभएका उत्पादन प्रदर्शन मा राखिएका हुन् ।’’