प्रधानमन्त्रीको राजीनामा स्वीकृत समेत भइसकेको अवस्थामा थप जनधनको क्षति हुन नदिन आम नागरिकलाई संयमता अपनाउन अनुरोध गरिएको छ । यस विषयमा संवादमार्फत यथाशक्य छिटो शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान गरिएको छ ।
यस सम्बन्धमा सरकारका तर्फबाट आज सार्वजनिक गरिएको अपिलमा भनिएको छ–

“यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।”
साझा अपिलमा मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिँदेल, गृहसचिव गोकर्णमणि डुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापाको हस्ताक्षर रहेको छ ।