सम्पादकीय
मुलुकको अस्तित्व संकटमा पर्छ की भन्ने चिन्ता छ । नेपाली आपसमा लड्दै गर्दा त्यसको फाइदा बिदेशीले उठाउने निश्चित हो । आफ्नो देशको विकास आफै गर्ने हो भने रक्षा पनि आफै मिलेर गर्ने हो । हाम्रो देशले बिगतको जस्तो लडेर सीमा सुरक्षा गर्न सक्ने अवस्था छैन । नेपालीको एकता भयो र हरेक देशसंग गरिने कुटनीति प्रष्ट भयो भने मात्र हाम्रो देशको सीमा सुरक्षा हुन्छ । सरकार ढाल्ने र बनाउने भूमिकामा बिदेशी चलखेल देख्न थालेको धेरै भइसक्यो । हरेक परिवर्तनमा भारतको प्रत्यक्ष हात छ भन्दै आएका छौ । यो भन्दा लाजमर्दाे कुरा के हुन्छ ? प्रजातन्त्र रक्षाका लागि प्रजातान्त्रीक देशको सहयोग लिन सकिन्छ तर सरकार बनाउने र ढाल्ने गरी भूमिका दिन थालेका छौ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रबैयालाई बिश्लेषण गर्ने हो भने हरेक नागरिकलाई आफ्नो दशेको अस्तित्व बचाउन संकट छ । बलिया राष्ट्रले कमजोर राष्ट्रलाई आफु अनुकुल प्रयोग गर्ने गरेको पछिल्लो समय भएका द्वन्दको घटनाले देखाएको छ । इजरायलको आक्रमण , अनी रुसको रबैया र त्यसमा अमेरिकाको रबैयाले बिश्वलाई तर्साएको छ । अमेरिकालाई होस् या अन्य बलिया राष्टूलाई चित्त बुझेन भने छिमेकी प्रयोग गरेर हतियारको लडाई गराइहाल्छन् । देशमा रहेका खनिज हडप्न बलिया राष्टू उद्यत छन् । बहुमुल्य खनिज बचाउन गाहे छ । बहुमुल्य खनिज भएपछि बलिया राष्ट्रले आँखा गाड्छन् अनी अनेक बहाना बनाएर युद्ध गराउने गरेका छन् । युक्रेन बिरुद्धको र हमास बिरुद्धको युद्ध मात्र होइन रुसले देखाएको बर्बरताले अब देशको अस्तित्व बचाउन हरेक नागरिक सचेत हुनुपर्छ भन्ने सन्देश दिएको छ । आपसमा लडेर बिदेशीलाई खेल्ने मौका दिदै जाँदा अहिलेको युगमा राष्ट्रको अस्तित्व बचाउन चुनौती छ । बलिया राष्ट्रका अघि निरही बन्नुपर्ने बाध्यता छ । हेर्दा जनताले निर्बाचित गरेको सरकार झैं हुन्छ तर अन्तराष्ट्रिय परिस्थितीलाई नबुझ्ने हो भने मुलुक बचाउन त्यति सजिलो छैन । नेपाल दुई ठूला देशको बीचमा अवस्थित छ । दुई ठूला देशले सुरक्षा चुनौती ठानिरहेका छन् । चीन र भारतले नेपालको भूमि आफ्ना बिरुद्ध हुने गतिबिधिमा प्रयोग हुन नपावस भन्नेमा सचेत छन् । यी दुई ठूला देशको सुरक्षा चुनौतीका बारेमा नेपाल सचेत हुनुपर्छ । नेपालको भूमि यी देशका बिरुद्ध प्रयोग हुन नपावस भन्ने प्रष्ट नीति छ । नेपालको राजनीतिमा पछिल्लो समय भारत, चीन , अमेरिका र युरोपियन यूनियनले बढी चासो बढाएको देखिन्छ । दलका नेताहरु एकातिर सुशासनको पाटोमा चुक्दै आए भने सत्तामा जानका लागि मात्र भारत , चीन, अमेरिका र युरोपियन यूनियनलाई प्रयोग गर्ने गरेका छन् । सत्तामा जान सहयोग माग्ने अनी सत्तामा गएपछि उनीहरुको अनुसार नहिडेपछि सडकबाट नै सत्ताबाट हटाइदिन्छन् भन्ने प्रमाण ओली सरकारबाट बुझ्न सकिन्छ । नेताहरुले जनतासंग राष्टूवादी कुरा गर्ने अनी सत्ताका लागि बिदेशीको सहयोग लिने परम्परा बढ्दै गएपछि मुलुक संकटमा फस्दै गएको छ । देशको विकासका लागि भारत,चीन , अमेरिका र युरोपियन यूनियलाई प्रयोग गरेको भए देश हितमा हुने थियो । जनता एक भएर देशका बारेमा सोच्न जरुरी छ । सत्ताका लागि मरिहत्ते गर्ने जो कोही होस् त्यस्तालाई बहिस्कार गर्न जरुरी छ ।