टीकापुर, १८ फागुन/ वर्षौदेखि नदी कटानको त्रासमा रहेका कैलाली को टीकापुर नगरपालिका ९ खक्रौला जनताले राहत महशुस गरेका छन् । मोहना नदीमा ६ सय ८० मिटर लामो बिग बोल्डर (ठूला ढुङ्गाको प्रयोग गरी) तटबन्ध भएपछि खक्रौलाका जनताको त्रास हराएको छ ।

सिँचाइ तथा जलस्रोत व्यबस्थापन आयोजना कञ्चनपुरले तटबन्ध गरेको हो । भ्याट सहित रु। ४ करोड ११ लाख लागतमा तटबन्ध निर्माण भएको हो । बर्षामा मात्र होइन हिउँदमा समेत बर्सेनि कटान हुने गरेकोमा यसपटक कटान रोकिएको छ । कटानले नेपाल भारत सीमामा रहेको १०५ नम्बर पिलर समेत जोखिममा परेको थियो ।
तटबन्ध भएपछि दुई दर्जन बढी परिवारले राहत महशुस गरेको स्थानीय समाजसेवी खडग धामी ले बताउनुभयो । ‘‘बर्खामा कति बेला घर बगाउने हो भन्ने त्रास हुन्थ्यो, यसपटक निद्रा लाग्ने भयो’’, धामीले भन्नुभयो, ‘‘सयाँै बिघा जमीन नदीले काट्दा कतिपय परिवार बिस्थापित भएका छन् ।’’
लालपूर्जा हातमा भएको जमीनमा यतिखेर नदी बगिरहेको अवस्था छ । ‘‘यो तटबन्ध ५ वर्ष अघि भएको भए धेरै परिवार बिस्थापित हुनुपर्ने थिएन भन्दै धामीले तटबन्धका लागि धेरै पटक मन्त्रालय र नेताहरु गुहा¥यौँ, अन्तमा पूर्व माननीय इश्वरी न्यौपानेले काम गर्नुभयो ।’’

तटबन्ध गत आर्थिक बर्षको बजेटबाट भएको सिँचाइ तथा जलस्रोत व्यबस्थापन आयोजना कञ्चनपुरका इञ्जिनीयर उत्तम सुबेदीले बताउनुभयो । भ्याट सहित रु। ४ करोड ११ लाखमा तटबन्ध निर्माण भएको सुबेदीले बताउनुभयो । तटबन्ध निर्माण भएपछि स्थानीयले तटबन्धका लागि सहयोग गरेको भन्दै पूर्ब सांसद इश्वरी न्यौपाने र सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री डाक्टर रणबहादुर रावलसँग खुसी साटासाट गरेका छन् ।
उनीहरुले आफ्नो जीवनमा तटबन्ध हुँदैन की भन्ने मनमा थियो भन्दै पहलकर्ता नेताहरुलाई धन्यवाद दिए । ‘‘तटबन्ध बनेपछि भारतको प्रशिद्ध मन्दिर बैष्णेदेबी मा पूजा गर्छु भन्ने सोचेको थियो तटबन्ध भएपछि बैष्णैदेबमा पुगेर आए’’, स्थानीय रणसिंह धामीले भन्नुभयो,‘‘बैष्णोदेबीको प्रशाद ल्याएको छु हजुरहरुलाई, हाम्रो खुसीको सीमा छैन ।’’
मोहना नदीले कटान गर्दै जाँदा बर्सेनि लगाएको खेती बगाउँदै आएको पीडा स्थानीयले पटक पटक राख्नुभएको थियो, आज उहाँको पीडामा मलहम लगाउने काम सरकारले गरेको पूर्ब सांसद इश्वरी न्यौपानेले बताउनुभयो । ‘‘सुख्खा समयमा पनि कटान भएको देख्दा मेरा मन रोएको थियो, आज तटबन्ध बनेको देख्दा खुसी लाग्यो’’, न्यौपानेले भन्नुभयो, ‘‘सरकारले जनताको वास्तविक आवश्यक्ता पहिचान गरेर विकास गर्ने हो भने मात्र जनतालाई लाभ पुग्छ ।’’ ४ करोडले सयौँको बास सुरक्षित हुने अवस्था रहेछ यत्ति काम पहिलै भएको भए अझ राम्रो हुने थियो ।

सरकारले कर्णाली र मोहनामा तटबन्ध गरे पनि केही भागमा बाँकी राख्दा जनता लाई पीडा थियो यसपटक सम्बोधन भएको प्रदेश सरकारका पूर्व मन्त्री डाक्टर रणबहादुर रावलले भन्नुभयो । उहाँले नदी छेउका धेरैको जग्गा नदीले खाएको पीडा सुन्यौँ, देख्याँै तर यसपटक पीडा लाई सम्बोधन गर्न सफल भएका छाँै भन्नुभयो । सोही कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीले हरेक विकास का काम नेपाली काँग्रेसले गर्दै आएको बताउनुभयो ।
‘‘राणा ढाल्ने होस् या विकासका सवालमा होस् काँग्रेसले काम गरेको छ’’, चौधरीले भन्नुभयो ‘‘यहाँ काँग्रेसले जितेको छैन, तै पनि काम गरिरहेको छ ।’’ आपतकालिन अवस्थाका बेला नेपाली काँग्रेसका नेताले काम गरेर देखाएको बताउँदै चौधरीले व्यक्ति परिवर्तन हुन्छ तर रुख परिवर्तन हुँदैन र झुक्दैन पनि भन्नुभयो ।
मोहना नदी कटानले नेपाली भूभाग भारततर्फ धकेलिएको छ । भारतीय नागरिकले नेपाली भूमि नदी पारी हुँदा उपभोग गर्दै आएका छन् ।