सम्पादकीय
राजनीति गर्नु भनेको राज्यको साधन स्रोत दोहन गर्न हो भनेर बुझाउने प्रयास भएको छ । जनताका लागि काम गर्छाै भनेर सडक तताएपनि सत्तामा गएपछि साधन स्रोत हात पार्ने योजना बनाएको पाइन्छ । विकास बजेट खर्च गर्न नसक्ने नेताहरुले फजूल खर्च भने मनग्य गर्ने गरेका छन् । मामाको धन फूपुको श्राद्धझै राज्यको ढुकटीमा होली खेल्ने गरेका छन् । हरेक सरकारमा बस्ने मन्त्रीहरुले नागरिकले गास काटेर तिरेको कर दुरुपयोग गर्ने गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले असार महिनामा मात्र एक करोड २२ लाख रुपैया सहयोग बाडेका रहेछन् । असारमा उनको सरकार ढलेको हो । १७ गते नै सरकार संकटमा परेको हो । अर्थमन्त्रालयले सार्वजनिक गरेको बिवरण अनुसार २०८० साउन देखि २०८१ जेठसम्मको ११ महिनामा २ करोड ५१ लख ९५ हजार ९३५ रुपैया बाडेछन् । यसरी एक बर्षमा आफ्ना कार्यकर्तालाई करिब पौने तीन करोड रुपैया बाड्न भ्याए । यसरी आफ्ना कार्यकर्तालाई मोटाउने हुन् भने कार्यकर्ता पनि काम किन गर्ने हुन्? काम नगरेर गर्ज टर्छ भने किन हातगोडा खियाएर काम गर्ने ? सत्तामा गएपछि देश र जनताको हितमा काम गर्नुभन्दा कसरी हुन्छ आफ्नालाई मोटाउने योजना बनाउछन् । देशको आर्थिक र राजनीतिक अवस्था कमजोर हुँदै गएको छ । आर्थिक अवस्था कमजोर हुँदै जाँदा नागरिक बिदेश पलायन हुन बाध्यछन् । नागरिक बिदेश जान बाध्य भएको कुरामा ध्यान छैन । काम गरेर खाने वातावरण छैन भने हरेक निकायमा बिना आर्थिक लेनदेन जनताको काम हुँदैन । कानूनको डण्डा देखाएर नागरिकलाई तर्साउने तर राज्य लुट्नेहरुलाई संरक्षण गर्ने राजनीतिले मुलुक थप संकटमा पर्दै गएको छ । तसर्थ हरेक राजनीतिक दलका इमान्दार नेता तथा कार्यकर्ता सचेत हुन जरुरी छ ।