टीकापुर,१० साउन/टीकापुरस्थित वरदादेवी डेरी उद्योगले दुग्ध पदार्थ र आइसक्रीम उत्पादन का लागि अनुमति पाएको छ । उद्योगले गएको असार ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट दुग्ध पदार्थ र आइसक्रीम उत्पादन का लागि मापदण्ड पूरा गरेपछि अनुमति पाएको हो । अब वरदादेवी टीकापुरमा दुग्ध पदार्थ र आइसक्रीम उत्पादन गर्न पाउने एकमात्र अनुमति प्राप्त उद्योग भएको छ ।
२०७५ सालदेखि उद्योग सञ्चालन गरिरहेको वरदादेवी डेरी उद्योगका सञ्चालक रविन्द्र खड्काले उद्योगमा डेढ करोड बढी लगानी गरेको बताउनु भयो । उद्योगले टीकापुर लगायतका क्षेत्रमा ५० बढी ठेला आइसक्रीम उपलब्ध गराएको, सयौँ किसानलाई नाफा भएको बताउनुभयो ।
अब अनुमति पाएकाले उत्पादित बस्तुको वाह्य आवरणमा उद्योगको नाम, ठेगाना, उत्पादन मिति, ब्याच नं।, उपभोग्य मिति, खुद तौल, समिश्रित बस्तुहरु ब्राण्ड एवम खाद्य बस्तुको नाम अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
यसरी उल्लेख नभएको बस्तु स्वास्थ्यका लागि लाभदायक हुँदैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुमति बिना दुध डेरी सञ्चालकले पनिर लगायतका बस्तुहरु उत्पादन गर्न नपाउने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निरीक्षण अधिकृत सुरेशप्रसाद जैसीले बताउनुभयो ।