सम्पादकीय
टीकापुरमा यस बर्ष बजार क्षेत्रमा पानी जम्मा भएन । बजार क्षेत्रमा पानी जम्मा नहुनुको एउटै कारण हो ढल । ढलका कारण आकासवाट परेको पानी जम्मा भएन । व्यबस्थित ढलकै कारण पानी जमा नभएको सबैले महशुस गरेका छन् । करिब १७ किलोमिटर व्यबस्थित ढल निर्माण भएको छ । आधा काम हुन पाएन । डिपिआर भएको सबै काम सम्पन्न भएको भए डुवानको समस्या समाधान हुने थियो । बर्षेनी डुबानले नगरबासीमा समस्या परेका थिए । पीडा जसले भोग्छ उसैलाई थाहा हुन्छ । टीकापुरमा हुने हरेक विकास निर्माणमा नागरिक सचेत हुने हो भने धेरै समस्या टर्छन् । टीकापुर व्यबस्थित सहर हो यो कुरा कसैले कसैलाई सिकाउन या बुझाउन जरुरी छैन । व्यबस्थित सहर भएपनि यहाँ हुने विकास निर्माण धेरै अधुरो अवस्थामा छ । विकास निर्माणका क्रममा रहेको टीकापुरलाई कस्तो बनाउने भन्ने बारेमा कहिले बहस र छलफल भएको पाइदैन । टीकापुरको पहिचान झल्कनेगरी विकास निर्माण गर्न जरुरी छ । विकास निर्माण गर्दा मार्ग निर्माण गर्न जरुरी छ । नगरपालिकाले टीकापुरका कुन ब्लक कस्तो बनाउने भन्ने बारेमा ध्यान दिएको पाइदैन । सबै ठाउँमा कालापत्रे सडक निर्माणलाई महत्व दिएको पाइन्छ । जनप्रतिनीधिहरुले आफ्नो विबेक प्रयोग गर्न जरुरी छ । टीकापुरका बिभिन्न ब्लकमा कालोपत्रे सडक निर्माण आवश्यक छैन । भित्री सडकमा इटाको सोलिङ गर्दा राम्रो र कम लागत लाग्छ भन्ने कुरा अवगत गराएपनि जनप्रतिनीधि गम्भिर भएको पाइदैन । मर्मतमा पनि कम खर्च हुन्छ । कालोपत्रे गरेको दुई बर्षमै सडक मर्मत गर्नुपर्ने अवस्था छ । मर्मतमा मात्र करोडौ खर्च हुन्छ । मुख्य सडक निर्माण गर्दा एउटा मापदण्ड र भित्री सडक निर्माण गर्दा एउटा मापदण्ड बनाएर निर्माण गर्न जरुरी छ । बिभिन्न ब्लकमा रहेका खाली चौरलाई व्यबस्थित गर्ने सवालमा पनि ध्यान गएको छैन । तसर्थ स्थानीयबासी सचेत हुन जरुरी छ । टीकापुरको विकासमा सबैको भविष्य छ । सबैको भविष्य जोडिएको बिषयमा सबै चनाखो हुनै पर्छ ।