विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र व्यवस्थापन सम्बन्धी तीन दिने तालिम

टीकापुर, २ चैत्र/विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र व्यवस्थापन सम्बन्धी तीन दिने तालिम टीकापुरमा भएको छ । तालिममा टीकापुर र भजनी नगरपालिकाका २३ जना गुनासो सुनुवाइ गर्ने फोकल शिक्षक सहभागी थिए ।
आयोजक बालकल्याण संघको आयोजना तथा वल्ड भिजनको आर्थिक सहयोगमा भएको तालिम यसपछि कैलालीका तीन पालिका घोडाघोडी र गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा समेत हुनेछ ।
बाल कल्याण संघका कार्यक्रम संयोजक राधिका गिरीले विद्यालयमा बालमैत्री र गोपनिय तरिकाले गुनासो प्राप्त गर्ने, अभिलेखिकरण गर्ने र सम्बोधन गर्ने सिपहरु शिक्षकलाई प्रदान गर्ने लगायतका उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।
बाल कल्याणका अध्यक्ष धन बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा गौरीगङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश पन्तले विद्यार्थीमा भएका विभेद अन्त्य, द्वन्द्व समाधान, बाल मैत्री सिकाइ का लागि हरेक विद्यालयमा रहेका जेड्सी फोकल पर्सन, त्यसमा पनि महिला शिक्षकलाइ गुनासो सुनुवाइको जिम्मा दिएर काम गरेमा धेरै समस्या समाधान हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी विद्यालय का शिक्षकले २०८३ जेठ मसान्त सम्म कार्यान्वयन गरिसक्ने गरि ८ बुँदे कार्ययोजना निर्माण गरिएको छ । कार्ययोजनामा सबै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीलाई अभिमुखिकरण, गुनासो सुन्ने शिक्षक छनोट, समिति गठन, कार्यविधि अनुसार गुनासो पेटिका राख्ने वा  स्थानान्तरण गर्ने, सरोकारवालाको नक्साङ्कन, बाल सरक्षण र बाल हिसा न्युनिकरणका लागि विद्यालय स्तरीय कार्य योजना निर्माण,बाल सरक्षण प्रवदन तथा लैङ्गिक हिंसा रोकथाम विद्यार्थी कार्यदल, गुनासो सुनुवाइ बारे बालबालिकालाई जानकारी एवम् अन्तक्रिर्या गर्ने विषय समेटिएका छन् ।
तालिम समापन कार्यक्रममा जनता राष्ट्रिय मावि सोनाहाफाटा शिक्षक जयसरा शर्माले  तालिम उपलब्धिमुलक रहेको, गुनासो सुनुवाइको काम भइरहेको भए पनि खासै गुनासो नआउने बताउँदै, अब तालिमपछि थप तदारुकता देखाउने बताउनुभयो ।
मोहन्याल मावि भजनीका शिक्षक विद्या भट्टले विद्यालय सुधार गर्न गुनासो सुनुवाइले सहयोग गर्ने भएकोले सबै शिक्षकले सक्रियता देखाउनुपर्ने बताउनुभयो ।
तालिमका प्रशिक्षक आत्माराम भट्टराईले विद्यालयमा गुनासो सुनुवाइ गर्दै गएमा गुणस्तरीय सिकाइ पूरा हुने बताउनुभयो । बाल कल्याण संघका अध्यक्ष धनबहादुर विकले तालिम उपलब्धिमुलक बनाउन अब विद्यालयमा लागू गर्न अनुरोध गर्नुभयो । कार्यक्रम बाल कल्याण संघका संरक्षण अधिकृत इन्दराज जोशीले सञ्चालन गर्नुभएको थियो ।