वीरेन्द्र विद्या मन्दिर टीकापुरको स्वर्ण महोत्सवको तयारी तिब्र

टीकापुर, १६ माघ/वीरेन्द्र विद्या मन्दिर टीकापुरको स्वर्ण महोत्सवको तयारी तिब्र पारिएको छ । विद्यालय स्थापनाको ५० औं वर्षको अवसरमा आउँदो फागुन ९ गतेदेखि ११ गतेसम्म मनाइने स्वर्ण महोत्सवको तयारीका क्रम मा स्वर्ण स्तम्भ निर्माण गरिदैछ । महोत्सव तयारीका क्रममा स्वर्ण स्तम्भ र स्टेज निर्माण गरिने भएको छ ।
स्वर्ण महोत्सव सञ्चालनका लागि १ सय ४२ जना सदस्य रहेको मूल समिति निर्माण गरी तयारीको काम भइरहेको छ । विद्यालय स्थापना देखि अहिले सम्मका प्रथम विद्यार्थी २ सय बढीलाई स्वर्ण महोत्सवमा सम्मान गरिने विद्यालयका गुठियार प्रमुख तथा महोत्सव आयोजक समितिका निर्देशक नवराज रावलले जानकारी दिनुभयो ।
महोत्सवमा विभिन्न भौतिक संरचना निर्माण गरिने भएपनि खर्च विद्यालयबाट नगर्ने गरी काम थालिएको छ । स्वर्ण स्तम्भ, सुविधा सम्पन्न पुस्तकालय लगायतका कार्य पूर्व विद्यार्थी, प्रदेश सरकार तथा विभिन्न ब्यक्तिको सहयोग बाट गरिने उहाँको भनाइ छ । ‘‘टीकापुर सरोकार मञ्च, गगन फाउण्डेशन र पूर्व विद्यार्थीको समूहले हामीलाई सहयोग गरिरहनु भएको छ’’,उहाँले भन्नुभयो, ‘‘महोत्सवका माध्यमले टीकापुरको शैक्षिक मेरुदण्ड विरेन्द्र हो भन्ने कुरालाई थप उजागर गर्छ । साथै विरेन्द्रको विकासमा सबैको ध्यान जानेछ ।’’
महोत्सवमा स्वर्ण स्तम्भ निर्माण, मञ्च निर्माण, स्वर्ण महोत्सव स्मारिका प्रकाशन लगायतका कार्य हुनेछन् । विरेन्द्र विद्या मन्दिरका पूर्व प्राचार्य कीर्तिसिंह बम स्वर्ण महोत्सवमा ३ कुरालाई प्राथमिकता दिएको बताउनुहुन्छ । ‘‘स्तम्भ बनेमा विद्यालय ५० वर्ष पूरानो हो भन्ने पहिचान देखिनेछ’’, उहाँले भन्नुभयो, ‘‘अन्य पूर्वाधार पनि निर्माण हुनेछन् ।
कार्यक्रममा माननीय ब्यक्तिहरु, संघीय मन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसद लगायतका ब्यक्ति उपस्थित भएपछि विद्यालय विकासमा सहयोग गर्नुपर्छ भन्ने भावनाको पनि विकास हुनेछ ।’’
कार्यक्रममा राष्ट्रपतिलाई आमन्त्रण गर्ने बताइएको छ । कार्यक्रममा शिक्षा मन्त्री,सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्रीहरु, यस क्षेत्रका सांसदहरु सहभागी हुने छन् ।
विद्यालयमा स्वर्ण महोत्सव हुन थालेपछि विद्यार्थी समेत उत्साहित भएका छन् । विद्यार्थी निमेश बटाला स्वर्ण महोत्सवमा यसै विद्यालयमा पढेर सफल भएका पूर्व विद्यार्थीसँग भेट्न पाइने, उनीहरुका अनुभव सुन्न पाइने आशा गरेको बताउनु   भयो । ‘‘म एकदमै उत्साहित छु, भब्य कार्यक्रम देख्न पाइनेछ’’, उहाँले भन्नुभयो, ‘‘त्यसैमाथि सफल ब्यक्तिहरुका संघर्ष र अनुभवबाट सिकाइ समेत  हुनेछ ।’’