समुदायबाट स्थापना भएको टीकापुर बहुमुखी क्याम्पसमा एक दर्जन विद्यावारिधी प्राध्यापक

टीकापुर, २२ माघ/टीकापुरमा सञ्चालित टीकापुर बहुमुखी क्याम्पस समुदायबाट स्थापना भएको क्याम्पस हो । वि.सं. २०५८ सालमा स्थापना भएको यस क्याम्पसमा अहिले ८ जना विद्यावारिधी (पिएचडी) गरेका र ७ जना बिद्यावारिधी गरिरहेका प्राध्यापक छन् ।
क्याम्पसमा विद्यावारिधी गरेका प्राध्यापक भएपछि टीकापुरका सामाजिक अगुवा खुसी छन् । यतिखेर उनीहरुले क्याम्पस स्थापना गर्दाको सास्ती बिर्सेर टीकापुर शैक्षिक सहर निर्माणमा भएको प्रगतिसँग जोडेर कुरा गर्न थालेका छन् । टीकापुर बहुमुखी क्याम्पसमा प्राध्यापक धनकृष्ण उपाध्याय, केशरबहादुर कुँवर, देबराज जोशी, ज्ञानु राज पौडेलले विद्यावारिधी गर्नुभएको छ । यसैगरी नाथुराम चौधरी, खेमराज सुवेदी, मीनबहादुर शाही र लय खतिवडाले पनि विद्यावारिधी गर्नुभएको   छ । सन २०१९ देखि २०२६ मा उहाँहरुले विद्यावारिधी पूरा गर्नुभएको बताइन्छ । केदार भट्टराई, नबराज पाण्डे, छबी शर्मा, दामोदर कँडेल, बाल कुमार चौधरी, ढबिन्द्र रावल र तिलकदेब गिरी सहित ७ जना प्राध्यापक विद्यावारिधीको अध्ययनमा हुनु हुन्छ ।
क्याम्पस स्थापना गर्दा यस क्षेत्रका सामाजिक अगुवाले शुरुमा चन्दा मागेर आर्थिक संकलन गरेका हुन् । सम्वन्धन पाएपछि आजीवन र साधारण सदस्य बनाएर आर्थिक संकलन गरिएको थियो । ‘‘क्याम्पस स्थापनामा यस क्षेत्रका राजनीतिक दल र सामाजिक कार्यकर्ता एक भएर लागेकै कारण सफल भएको हौँ’’ संस्थापक क्याम्पस प्रमुख डाक्टर जगत बहादुर सिंह रावलले भन्नुभयो, ‘‘शुरुमा ८० जना विद्यार्थी र ४ जना प्राध्यापक बाट पढाई शुरु गरेका हौँ ।’’
उहाँले यहाँका विद्यार्थी नेपालगञ्ज र धनगढी जाने गरेको भएपनि टीकापुर बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर देखेपछि विद्यार्थीको चाप बढेको थियो भन्नुभयो । ‘‘क्याम्पस स्थापना गर्दा राज्यले सम्बन्धन दियो तर यसको संरक्षकको रुपमा तत्कालिन टीकापुर विकास समिति भएकाले सहज भएको हो’’, रावलले भन्नु भयो, ‘‘अक्षय कोष स्थापना गर्नुको साथै तीन सय ८० बिघा जग्गा उपलव्ध गराएको हो ।’’
उहाँले क्याम्पसको शैक्षिक गुणस्तर मात्र होइन यतिखेर प्राध्यापकहरुले आफ्नो शैक्षिक स्तर वृद्धि गर्ने अवसर पनि पाएको रावलले बताउनुभयो । स्थापना कालमा प्राध्यापक पाउन कठिन थियो, देशका विभिन्न ठाउँबाट प्राध्यापक खोजेर ल्याएको त्यो अवस्था र अहिलेको अवस्था दाज्ने हो भने हामीहरुले गर्ब गर्ने अवस्था रहेको रावलको भनाइ छ । एक दर्जन प्राध्यापकहरुले विद्यावारिधी गर्दा सिंगो समाज खुशी तर प्राध्यापकहरुले पनि समाजको भावनालाई बुझेर टीकापुरको समाजमा केही योगदान दिनुपर्ने मा रावलले जोड दिनुभयो । मैले पनि क्याम्पसबाट सुबिधा लिएर विद्यावारिधी गरेको हुँ भन्दै रावल ले पछिल्लो समय विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुर्णस्तर वृद्धि गर्न प्राध्यापकहरुलाई विद्यावारिधी गर्न उत्प्रेरणा गरेको बताउनुभयो ।  संस्थापक क्याम्पस प्रमुख रावलले वि.सं.२०७३/०७४ सालमा बिद्यावारिधी गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले उहाँलाई नीति आयोगको सदस्य का रुपमा चार बर्ष काम गर्ने अवसर दिएको थियो । स्थापना कालमा त्रिभुवन विश्व विद्यालय बाट सम्बन्धन प्राप्त भएपनि २०७५ सालबाट यो क्याम्पस सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गत रहेर शिक्षा प्रदान गर्दै आएको छ । क्याम्पसमा एमबीएस, एमएड र एमएको पढाई हुने गर्छ भने स्नातक तहमा बिबिए, बिबिएस, बिएड, बिए र पिबिएडको पढाई हुन्छ । यतिखेर क्याम्पसमा १२ सय ६२ जना विद्यार्थी छन् भने ४० जना प्राध्यापक र १७ जना कर्मचारी छन् ।
क्याम्पसमा विद्यार्थीले २५ प्रतिशत छात्रबृत्ति पाउने गरेका छन् । समुदायस्तरबाट स्थापना भएको क्याम्पस यस क्षेत्रको शैक्षिक धरोहर भएको क्याम्पस प्रमुख ढबिद्र रावलले बताउनु भयो । प्राध्यापकहरुको शैक्षिकस्तर वृद्धि विकास भएको बताउँदै उहाँ ले शिक्षण सिकाइमा महत्वपूर्ण भूमिका निभाउँदै जाँदा क्याम्पस को पनि महत्व बढेको छ भन्नु भयो ।
‘‘विद्यावारिधी गर्नुभएका प्राध्यापकहरु अनुसन्धानमा संलग्न हुनुको साथै
समाजका विभिन्न संस्था तथा पालिकाहरुमा बिज्ञको रुपमा काम गर्दे आउनुभएको छ’’, क्याम्पस प्रमुख रावलले भन्नभयो, ‘‘टीकापुरमा अहिले कृषि डिन कार्यालय स्थापना भएको छ भने कृषि बिषयमा स्तानकोत्तर तहसम्मको पढाई हुन्छ यो हाम्रो महत्वपूर्ण उपलव्धि हो ।’’ उहाँले विद्यावारिधी गरेको मात्र नभई ७ जना प्राध्यापकले एमफिल पूरा गर्नुभएको छ भन्नुभयो ।
‘‘टीकापुर बहुमुखी क्याम्पस टीकापुरको महत्वपूर्ण शैक्षिक संस्था हो, यस बाहेक बीरेन्द्र क्याम्पस पनि टीकापुरको गहना हो’’, सामाजिक अगुवा निर्मला कडायतले भन्नुभयो, ‘‘समुदाय बाट स्थापना भएको क्याम्पसका प्राध्यापकहरुले टीकापुरको क्षेत्रलाई कसरी योगदान गर्न सकिन्छ भन्ने बारेमा चिन्तन गर्न जरुरी छ ।’’ क्याम्पस सञ्चालन का लागि यस क्षेत्रका राजनीतिक दलका नेताहरुले झोला बोकेर  रकम संकलन गरेको सबैलाई थाहा छ भन्नुभयो ।
‘‘टीकापुरको विकासमा सबैले सकारात्मक सोँच राखेर काम गर्ने हो भने अरु संस्थालाई पनि बलियो बनाउन सकिन्छ त्यसका लागि पारदर्शी नेतृत्व आवश्यक छ’’, कडायतले भन्नुभयो, ‘‘टीकापुर बहुमुखी क्याम्पसमा देशका विभिन्न जिल्लाबाट पढ्न आउने गरेका छन् यो हाम्रा लागि पनि सिकाई हो ।’’
क्याम्पससँग ३ सय ८० बिघा जग्गा भए पनि ८० बिघामात्र भोगचलन गर्न पाएको छ । ३ सय बिघा जग्गा अतिक्रमण भएकै कारण कृषिका थप कार्यक्रम आउन सकेका छैनन् । ठूलो सम्भावना भए पनि यस क्षेत्रका राजनीतिक दलका नेताहरु जग्गाको सवालमा चुक्दै जाँदा क्याम्सको स्तरवृद्धि रोकिएको छ भने भूमिहिन, सुकुम्बासी र मुक्त कमैया जग्गा पाउने आशामा बर्षौ देखि कठिन जीवन जीउन बाध्य छन् । विपन्न नागरिकलाई आश्वासन दिन तर काम नहुने भएपछि एकातिर क्याम्पस अर्को तर्फ बिपन्न नागरिक अन्योलमा परेका छन् ।