टीकापुर,२१ चैत्र/राष्टिूय सहकारी दिवसको अवसरमा देशैभरि कार्यक्रम भएका छन् । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ बुधबार देशभर ६८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
टीकापुरमा भएको कार्यक्रम लाई सम्वोधन गर्दै टीकापुरका नगरप्रमुख रामलाल डगौरा थारुले सहकारीमार्फत समाजमा भावनात्मक एकता र सदभाव कायम भएको बताउनु भएको छ ।
नगरप्रमुख थारुले सहकारीका कारण आन्तरिक एकता बलियो हुने, बैंकले नपत्याउने नागरिकले पनि सहकारीमार्फत पूजी जम्मा गरेर ठूलो लगानी जोड्न सक्ने अवस्था सृजना भएको बताउनु भयो ।
प्रमुख थारुले टीकापुर नगरपालिका भित्रका सहकारी संचालन र नियामक निकाय नगरपालिकाका कारण हालसम्म सहकारीमा बेतिथिहरुको जन्म नभएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत तथा सहकारीका रजिष्ट्रार दमनसिंह चौधरीले सहकार्यबाटै समृद्धि हासिल गर्न सकिने बताउनु भयो । नगरपालिकाका राजश्व शाखाका प्रमुख नन्दबहादुर केसीले नगरपालिका सहकारी मार्फत समृद्धिको सपना साकार पार्न नगरपालिकाको क्षेत्राधिकारभित्रका सहकारीसँग सहकार्य, प्रवद्र्धन गर्ने, नियमन गर्ने कार्यमा लागिरहेको र नगरपालिकाको नारा नै सहकारीमार्फत सेवा, विपन्नलाई टेवा रहेको बताउनु भयो ।
सहकारी म्यानेजर्स क्लव कैलालीका सल्लाहकार छविलाल जैसीले केही ठाउँमा नजानेर भए पनि धेरै ठाउँमा सहकारीको मान्यता अनुसार काम नगरेको र सहकारीको आवरणमा व्यक्तिगत कम्पनी प्रवद्र्धन गर्न लागेकाले समस्या आएको, सरकारले कडा कानून बनाउन लागेको र बनेको कानून अनुसार काम हुनुपर्ने बताउनुभयो ।
सल्लाहकार जैसीले कर्जा असूलीमा सहकारीहरुलाई नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनु भयो । महिला जागरण बहुउद्देशीय सहकारीका अध्यक्ष शोभा शर्मा ज्ञवालीले कैलालीमा सहकारी संस्थाहरु राम्रै रहेको बताउनु भयो ।
नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख रञ्जु आचार्यले संशोधित सहकारी ऐन अनुसार काम गर्न तयार रहनु निर्देशन दिनुभयो ।
शाखा प्रमुख आचार्यका अनुसार टीकापुर नगरपालिकामा ३३ वटा कृषि सहकारी, १८ वटा वचत तथा ऋण सहकारी, १७ वटा ग्रामिण विद्युत सहकारी, ४ वटा बहुउद्देशीय, ३ वटा दुग्ध सहकारी र २ वटा उपभोक्ता गरी ७७ वटा सहकारी रहेको र नगरपालिकालालाई प्राप्त रेकर्ड अनुसार ११ हजार २३६ जना सहकारी सदस्य रहेको त्यसको ४१ प्रतिशत महिला सदस्य रहेका छन् ।
कार्यक्रम अघि सहकारीकर्मीहरु ले विभिन्न नारा सहित प्रभातफेरी गरेका थिए ।