सीमित व्यक्तिका लागि आएको गणतन्त्र

सम्पादकीय
आम नागरिकले सीमित व्यक्तिका लागि आएको गणतन्त्र हो भन्न थालेका छन् । गणतन्त्रमा हरेकले आफ्नो जीवन सुरक्षाको प्रत्याभूति पाउनुपर्ने भएपनि अहिले गणतन्त्रमा देखिएको अराजकताका कारण नागरिकले असहज महशुस गर्न थालेका छन् । सुधारको कुरा भन्दा पनि कसरी ठग्न सकिन्छ भन्ने कुरामा राजनीतिक दलले ध्यान केन्द्रित गरेको  पाइन्छ । नेपालमा जनताको आक्रोस बढ्दै गएको छ । नेताहरुको व्यबहार सुधार हुनुको साटो कसले के गर्न सक्छ भन्नेगरी व्यबहार प्रदर्शन गरेको पाइन्छ । कर्मचारीतन्त्रमा बढ्दै गएको अराजकता पनि नेताहरुकै कारण हो । कांग्रेस र एमालेको गठबन्धन सरकार छ । यस्तो बलियो सरकारमा पनि जनताले अपनत्व महशुस गरेको पाइदैन । यति शक्तिशाली सरकारले पनि जनताको मन जित्न सकेन भने जनताले कहिले राहत महशुस गर्छन् ? एउटा सांसदले रोष्टमबाट मैले घुस दिएर छोरोको काम गराए भन्ने अभिव्यक्ति दिए । कुनै सांसदले खेलेआम भ्रष्टाचार भइरहेको छ भनेर अभिव्यक्ति दिइरहेका छन् । भ्रष्टाचार र व्यतिथीले मुलुक गाँजिएको छ तर कांग्रेस र एमालेका नेताहरु सुधारको कुरा गर्नु भन्दा सरकारको बचाउन गर्नमा समय खर्च गरिरहेका छन् । सत्तामा भएपछि गलतलाई सही भन्नुपर्ने भएपछि के का लागि राजनीति गर्ने ? प्रजातन्त्र र गणतन्त्र केही निश्चित ठालूका लागि मात्र भएको छ । प्रजातन्त्रले पुगेन भनेर गणतन्त्र आयो । अहिलेको जस्तो बिकृती कहिलै देख्न पाइएन । शासन व्यक्तिको भएपछि गणतन्त्रमा नागरिकका कुरा हुने कुरै भएन । बिधिको शाषन लागु गर्ने सवालमा नेताहरु गम्भिर छैनन् । देशको अर्थतन्त्र केही निचित व्यक्तिको हातमा पुग्यो तर नागरिकले आवाज उठाउन खोज्दा यो वा उ बहाना गरेर दबाउने प्रपञ्च भइरहेको छ । तसर्थ राजनीतिक दलका नेताहरु समयमै गम्भिर हुन जरुरी छ । नागरिकको भावना नबुझ्ने हो भने नागरिकले गणतन्त्रको विकल्प खोज्न सक्छन् । गणतन्त्रलाई बलियो बनाउन पनि जनभावना बुझ्न जरुरी छ । जनतालाई अध्यारोमा राखेर शासन धेरै दिन गर्न     सकिदैन ।