सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टीकापुरको नव निर्मित भवन उद्घाटन तथा एकाहा पूजा

टीकपुर, १ फागुन/सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टीकापुरको नव निर्मित भवन उद्घाटन तथा एकाहा पूजा भएको छ । १४ करोड ३० लाख लागतमा बनेको ३० कोठे भवनको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारी र सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रम उद्घाटन समारोहमा बोल्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले नयाँ भवनले विद्यार्थीको पठनपाठनमा सहज हुने बताउनुभयो ।
उहाँले कृषि विज्ञान संकायमा सबै प्राध्यापक तथा कर्मचारी   करारमा कार्यरत रहेकाले दरबन्दीको मुख्य समस्या समाधान का लागि अब बस्ने बैठकमा निर्णय गरिने बताउनु भयो । उहाँले धेरै काम अघि बढिसकेको र अब दरबन्दी कायम तथा कर्मचारी को समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
डाक्टर अधिकारीले कृषि संकायमा ल्याव संचालनमा थप सघाउने बताउँदै कृषि अध्यापन गरिरहेका ६ क्याम्पसमा प्रवेश परीक्षामा कडाइ गर्दा विद्यार्थी अभाव रहेको बताउँदै परिक्षा समेत सहज बनाउन सुझाव दिनुभयो ।
उहाँले सुदूरपश्चिम विश्व विद्यालयले अब अनुसन्धानमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अनुसन्धानका लागि सघाउने, शैक्षणिक योजना बनाएर काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले विश्वविद्यालयको राम्रो संकायका रुपमा कृषि विज्ञान संकाय स्थापित भएको बताउनुभयो । उहाँले राम्रो बनाउन सघाउने टीकापुर बहुुमुखी क्याम्पस, टीकापुरको समाजप्रति आभार ब्यक्त गर्नुभयो ।
२०७५ सालमा टीकापुरमा स्थापना भएको कृषि विज्ञान संकायमा अहिलेसम्म ३ ब्याचका विद्यार्थी दिक्षित भएका छन् । ११० विद्यार्थीको कोटा रहेको यहाँ पहिलो ब्याचमा ९२, दोस्रो ब्याचमा ९६ र तेस्रो ब्याचमा १०४ जना दिक्षित भएका छन् । अहिले चौथो ब्याचका ९० जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले अहिले ४६ विघा जग्गा प्रयोग गरिरहेको, जमीन अभाव भएको जनाएको छ ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टीकापुरका डिन प्राध्यापक डाक्टर विष्णुविलास अधिकारीले  विद्यार्थी लाई समुदायस्ँग जोड्नुपर्छ भनी प्रयोगात्मक अभ्यास गर्न समुदाय मा पठाउने गरिएको बताउनुभयो । संकायले पालिका र संघसंस्थासँग समन्वय गरेर पनि विद्यार्थीलाई अध्ययन र छात्रबृत्ति उपलब्ध गराउन सघाइरहेको छ ।
कार्यक्रममा लर्न एण्ड अर्न कार्यक्रमका सिलसिलामा  इजरायल गएर ज्यान गुमाएका ११ जना विद्यार्थीको आत्मा शान्ति का लागि एकाहा पूजा लगाइएको छ । एकाहा पुजामा स्वर्गिय विद्यार्थीका अभिभावक कर्ताका रुपमा रहेका छन् ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक यज्ञराज भट्ट, सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर विनोद लेखक, सुदूरपश्चिम विश्वविद्यालय का निवर्तमान रजिष्टार प्राध्यापक यज्ञराज पाठक, स्ववियु सभापति किरण साउँद लगायतले बोल्नु भएको थियो । उपप्राध्यापक लक्ष्मी भण्डारीले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन प्रेम पाण्डेले गर्नुभएको थियो ।