हितकारी योजना र उत्पादनमा नवजीवन सहकारी

टीकापुर, २१ मंसिर/नवजीवन सहकारी संस्थाको ३१ औं साधारण सभाको इकाइ भेला टीकापुरमा भएको छ । भेलालाई सम्वोधन गर्दै सुदूरपश्चिम प्रदेश का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले केही व्यक्तिका कारण सहकारी देशव्यापी रुपमा बदनामी भैरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताउनुभयो । मन्त्री चौधरीले कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै आफू निर्वाचन लडदा सहकारीले ऋण दिएको र सफल भएको बताउनु भयो ।
पूर्वराज्यमन्त्री चन्द्रसिह भट्टराईले शंकैशंकामा सदस्य भएको सहकारीले ठूलो प्रगति गरेकोमा धन्यवाद दिनुभयो । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले नवजीवन सहकारी देशकै नमूना सहकारी बनेकामा अरुले पनि सिक्नु पर्ने बताउनु भयो ।
सभाको बन्द सत्रमा सहकारी का अध्यक्ष देवबहादुर बमले २०८१ असार मसान्तमा सहकारी को शेयरपूजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरु मा ६२ करोड रुपिया रहेको बताउनुभयो । यस्तै २०८१ असार मसान्तमा ४ अर्ब ४ करोड रुपिया लगानी रहेको, खुद मुनाफा १६ करोड ४१ लाख रहेको र भाका नाघेको ऋण ३ प्रतिशतमा सिमित राखेको छ शेयर सदस्यहरुलाई १३ प्रतिशत का दरले हुन आउने रकम करिब ४ करोड लाभांश वितरण गरिने जानकारी दिइएको छ । सहकारीले करीब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ ।


सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिल सहित को कृषि उपआयोजना सञ्चालन गरिरहको छ । सहकारीको काठमाडौं र डडेलधुरामा शाखा खोल्ने अनुमति विभागबाट लिएको भएपनि ती क्षेत्रमा यस अघि सञ्चालित सहकारीले वचतकर्ता को ठूलो रकम हिनामिना गरी भागेकाले तत्काल शाखा खोल्ने काम स्थगित गरेको छ ।
बन्द सत्रमा शेयर सदस्यहरुले पदाधिकारी र कर्मचारीहरुको खर्च बढेको, लाभांश कम भएको गुनासो गरेका छन् । अध्यक्ष बमले २०७४ सालमा तय भएको पदाधिकारी भत्ता र कर्मचारी लगानी अनुसार कर्मचारी कम भएको जानकारी दिनुभयो ।
सभामा असल ऋणी र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । सहकारीले असल ऋणीका रुपमा जानकी गाउपालिका वडा नम्बर ३ का भर्जु कठरिया, टीकापुरका नरबहादुर बम, भजनी का टीकाराम चौधरी, जोशीपुरका फूलकुमारी थारुलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका सन्तान प्रतिक साउद र विश्वास ढुंगाना लाई पनि सम्मान गरिएको छ ।
प्रतिनिधि चयन
सहकारीको मङ्सिर ३० गते हुने साधारण सभाका लागि प्रतिनिधि छानिएका छन् । छानिएका प्रतिनिधिहरुमा टीकापुरबाट बिमला शाह, तारा बम, धनबहादुर बोहरा, दीर्घ बहादुर तिरुवा,नरेन्द्र मल्ल हुनुहुन्छ भने जोशीपुरबाट रामकृष्ण डगौरा र भजनकुमारी बोहरा हुनुहुन्छ ।