धनगढी, १२ अषाढ \ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने बताउनु भएकोछ ।
शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएका हो ।
‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’, उहाँले भन्नुभयो, ‘संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढी भन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयता लाई थप संस्थागत हुन्छ ।’ उहाँले व्यक्तिको इमानदारिता र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताउनुभयो । प्रदेश संरचना खारेज गर्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै उहाँले अब कुनै पनि पार्टीसँग आफू एकता नगर्ने बताउनुभयो । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताउनु भएको हो ।
राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको उहाँको दाबी छ ।
उहाँले पार्टी भित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने पनि दाबी गर्नुभयो ।