टीकापुर, २९ पुस/टीकापुर अस्पतालले दैनिक हाडजोर्नीको समस्या भएका ३ देखि ४ जना बिरामीको शल्यक्रिया गर्ने गरेको छ । अस्पतालमा गत वर्ष हाडजोर्नीको समस्या भएका ५३७ जटिल खालको र ३०६ सामान्य खालको शल्यक्रिया गरिएको छ । अस्पतालमा यस वर्षको मंसिरसम्ममा २३५ जटिल र १३३ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
विगतमा साधारण शल्यक्रिया सेवा मात्र दिने गरेको अस्पतालले विगत दुई वर्षदेखि सर्जन चिकित्सकको सेवा दिँदै आएको छ । अस्पतालमा साधारण लगायत जटिल शल्यक्रिया समेत हुने गरेको छ । अस्पतालले हात खुट्टा भाच्चिएका, कापका जोर्नी, जोर्नीको प्रत्यारोपण, मेरुदण्डको शल्यक्रिया, शल्यक्रिया पछि किलाकाटा निकाल्ने, नशा काटिए का, घुँडाको जोर्नीको मेशिनका माध्यमबाट पनि शल्यक्रिया सेवा दिन थालेको छ ।
मेरुदण्डको शल्यक्रियाका लागि चिकित्सक नभएकाले नियमित गर्न नसकिएको अस्पतालले जनाएको छ ।
एमआरआइ सुविधा नभएकाले दुरबिनका माध्यमबाट हुने शल्यक्रिया गर्न समस्या भइरहेको अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ तथा अस्पतालका प्रमुख रेमकुमार राइले बताउनु भयो । ‘‘एमआरआइ गर्न गएका अधिकाँश बिरामी फिर्ता नआउने समस्या छ’’,डाक्टर राईले भन्नुभयो,‘‘अस्पतालमा सुत्केरी, पेटको पत्थरी लगायतको शल्यक्रिया सेवा समेत हुनेगरेको छ । पित्तथैलीमा भएका पत्थरी र आन्द्राको शल्यक्रिया हुने गरेका छन् ।’’
चिकित्सक राईले बिरामीको लेखाजोखा गरेर बिरामीलाई फाइदा हुने अवस्थामा शल्यक्रिया गर्ने गरिएको बताउनुभयो ।
‘‘ बिरामीलाई थप जोखिम हुने भएमा अन्य विधी अपनाउन सल्लाह दिन्छौँ । हामी सरकारी अस्पतालका चिकित्सक भएकाले चाहिने भएमात्र शल्यक्रिया गर्छौँ’’, डाक्टर राईले भन्नुभयो, ‘‘विगतमा १५ शैयाको अस्पताल थियो । हाल ५१ शैयाका छ । हामीले आफैँले थपेर ७८ बेड सञ्चालन गरेका छौँ ।’’ डाक्टर राईले सेवा दिनका लागि धेरै उपकरण अभाव भएको बताउँदै भन्नुभयो,‘‘म आए पछि प्रदेश सरकारलाई अनुरोध गरेर धेरै बजेट ल्यायौँ र आवश्यक उपकरण खरिद गरेका छाँै ।’’
अस्पताललाई सबैले सहयोग गरेर राम्रो बनाउनुपर्ने उहाँका भनाइ छ । ‘‘बिरामीको चाप धेरै छ । अब बिशेषज्ञ थपिएमा सेवा दिने ठाउँ छैन । बेड छैन’’, राईले भन्नुभयो, ‘‘बिरामीको चाप व्यवस्थापन गर्न थप लगानी बढाउनुपर्छ । अस्पतालमा न्यूनतम दरमा सेवा दिइन्छ । यहाँका बिरामीले बाहिर सेवा लिन जानु परेको छैन जसले आर्थिक खर्च र समय बचाएको छ ।’’
अस्पतालले यसरी शल्यक्रिया मा खट्ने वा थप सेवा दिने चिकित्सकलाई प्रोत्साहन लगायत का सेवा दिन्छ । अस्पतालमा शल्यक्रिया सेवा लिन नसक्ने आर्थिक अवस्था कमजोर भएका लाई छुटको सुविधा पनि दिने गरेको अस्पतालले जनाएको छ ।
‘‘अस्पतालमा अहिले पनि सबै खालका विशेषज्ञ सेवा उपलब्ध छैनन् । ‘‘अर्थोपेडिक चिकित्सक लाई अन्य विशेषज्ञ चिकित्सक पनि चाहिन्छ । त्यो अझैँ छैन’’, चिकित्सक राइले भन्नुभयो, ‘‘यहाँ आउने चिकित्सक पनि भौतिक र आर्थिक सुरक्षा खोज्ने भएकाले आउन चाहदैनन । विकट ठाउँमा बस्दा ज्ञान, सीप विकास गर्न सकिदैन ।’’ सिकेका सबै सीप प्रयोग गर्न नपाएकाले आफू पनि बेलाबेलामा रिफ्रेसर तालिम लिन जाने गरेको उहाँको भनाइ छ ।
आफू टीकापुर आउनुअघिको अवस्था सम्झदै डाक्टर राइ भन्नुहुन्छ,‘‘म आउँदा हाडजोर्नीका केही सामान थिएनन्, अहिले धेरै सामान व्यवस्था गरिएको छ । यहाँका नागरिकको माग धेरै छ । थप सेवा दिनका लागि हामीलाई वातावरण बनाइदिनु पर्छ ।’’
अस्पतालमा सुविधा सेवा भएन भन्नुभन्दा कसरी सेवा राम्रो बनाउने, कसरी व्यवस्था राम्रो बनाउने भन्नेमा यहाँका नेतृत्वहरुले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारी अस्पतालमा हाल अर्थोपेडिक, जनरल सर्जरी, अन्य इमरजेन्सी लगायतका सेवा पाइने भएकाले दैनिक ५ सय बढी बिरामीले सेवा लिइरहेका बताउनुभयो । ‘‘अहिले बेड अभावको समस्या छ । हामीले सय शैया बेड बनाइदिन पहल गरिरहेका छौ’’,
उहाँ भन्नुहुन्छ, ‘‘प्रदेश सरकारले बेड अनुमति दिएर थप दरबन्दी स्वीकृति र बजेटको व्यवस्था गरेमा थप सेवा सुचारु गर्न सकिन्छ ।’’
यस अघि
हाडजोर्नीका बिरामी उपचार गराउन भारत, नेपालगंज जानु पर्नै बाध्यता थियो । टीकापुर अस्पतालले सेवा दिन थालेपछि आम नागरिकले ठूलो राहत महशुस गरेका छन् । हाडजोर्नी का बिरामीको उपचार गर्न अन्यत्र जाँदा आर्थिक भार पर्नु का साथै कुरुवा को समस्या पर्ने गरेकोछ । बर्दिया र कैलाली का बिरामीले यतिखेर हाडजोर्नी को उपचारलाई थप सुविधायुक्त बनाउनुपर्नेमा जोड दिइरहेका छन् । ‘‘टीकापुर अस्पताल को सेवा चुस्त दुरुस्त बनाउँन यहाँका जनप्रतिनीधिले ध्यान दिन जरुरी छ’’,स्थानीय भुवनेश्वर अधिकारीले भन्नुभयो, ‘‘टीकापुर अस्पतालले दिइरहेको विशेषज्ञ सेवामा सुधार भइरहेको छ, तर भइरहेको सेवा लाई थप प्रभावकारी बनाउन अस्पताल व्यबस्थापन समितिले स्थानीय सरकारसंग सहकार्य गरेर अघि बढ्न जरुरी छ ।’’
उहाँले हाडजोर्नीका बिरामीले राहत पाएको भएपनि शुल्क लगायत अन्य सुविधाका बारेमा अस्पतालले सोच्न जरुरी छ भन्नुभयो ।