सम्पादकीय
पछिल्लो समय टीकापुरमा होस् अन्य क्षेत्रमा होस् विकास बजेट माग्नेका नाममा भइरहेको अभ्यासले गलत सन्देश दिएको छ । हरेक संघ संस्थाका सदस्यहरु र घरघरका सामाजिक व्यक्तिहरुले जसरी फाइल बोक्दै विकास बजेट माग्न गएको देखिन्छ यसले गलत अभ्यास भइरहेको प्रष्ट हुन्छ । व्यक्ति पिच्छेले बजेट माग गर्ने हो भने भने कार्यान्वयन गर्ने तहमा भएको मान्छेले कसरी काम गर्छ ? यसरी व्यक्तिले प्रभावमा पारेर बजेट माग्ने हो भने बजेट कनिका छराई हुने निश्चित हो । सुदुरपश्चिममा अघिल्लो कार्याकालमा बजेट कनिका छराई भयो । कनिका छराई बजेटले कसैको पनि हित हुँदैन । एकछिन बजेट पाएका व्यक्तिहरु रमाउलान् तर दिर्घकालमा बजेट खेर गएको समिक्षा हुन्छ । सामाजिक व्यक्तिहरुले आफ्नो पालिकामा बसेर बृहत छलफल गर्नुको साटो एक्लाएक्लै बजेट माग गर्दा प्राथमिकतामा परेका कुरा पछि पर्छन् । जनचासोका बिषयमा गम्भिरता भएन भने विकास बजेट खेर जान्छ । नागरिकले गास काटेर तिरेको कर एक एक रुपैयाको हिसाव हुनुपर्छ अनी मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ । करबाट लगानी भएको बजेटले फाइदा कसरी दिन्छ भन्ने बारेमा अध्ययन गर्न जरुरी छ । करको रकमलाई अत्यधिक प्रतिफलसंग जोड्न जरुरी छ । त्यस बाहेक सिमान्तकृत समुदायको हितका बारेमा सोच्न जरुरी छ । सीमान्तकृत समुदायको जीवन स्तर उकास्नका लागि प्रयोग हुने बजेट नाफामुलक नहुँन सक्छ तर त्यसले भविष्यमा सकारात्मक असर देखाउछ । मन्त्रीसंग बजेट माग्नेको होडवाजी छ । सबैले मन्त्रीसंग बजेट माग्न जाने हुन् भने सांसद किन चाहियो ? सांसद मार्फत बजेट माग्ने नीति बनाउन जरुरी छ । आफ्नो ठाउँको योजनका बारेमा व्यापक छलफल गरेर मात्र बजेट खोज्न जाने हो भने बजेट पाइन्छ । यसैमा सबैको हित हुन्छ ।