पदम प्रकाशेश्वर मन्दिरको अक्षयकोषमा रकम थपियो

टीकापुर, १६ साउन/समाजसेवी मोहनबहादुर शाहले सत्तीस्थित पदम प्रकाशेश्वर महादेव मन्दिरमा स्थापना गरिएको अक्षयकोष मा रकम थप गरिदिनु भएको छ । शाहले यस वर्ष ५५ हजार ५ सय ५५ रुपैयाँ थप गरेर अक्षय कोषको रकम ६ लाख ६६ हजार ६ सय ६६ बराबर पुगाउनु भएको हो ।
मन्दिरको नित्यपुजामा सघाउने उद्देश्यले शाहले ३ वर्षअघि ५ लाख ५५ हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना गरिदिनुभएको थियो । सोही रकमको ब्याज मन्दिरको पूजाआजामा खर्च गर्ने गरिएको छ । मन्दिर पुजा आजामा रकम अभाव भएको भन्दै शाहले गत वर्ष ५५ हजार ५ सय ५५ र यस वर्ष पनि ५५ हजार ५ सय ५५ रुपैया कोषमा थप्नुभएको हो । यो रकमको ब्याजमात्र मन्दिरले खर्च गर्न पाउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुर कायस्थले जानकारी दिनुभयो ।


विगतमा मन्दिरको नित्यपुजाका लागि सरकारले सहयोग गर्दै आएको बताइन्छ । कायस्थका अनुसार वि।सं। १९९९ साल भदौ ३१ गते तत्कालीन राजा त्रिभुवन वीर बिक्रम शाहले लगाएको लाल मोहर अनुसार वार्षिक ९ सय २१ चादीको रकम मन्दिरमा आउने गरेको थियो ।
मन्दिरमा आउने रकम कहिले काही बन्द भयो भन्नेबारेमा अहिले जानकारी नभए पनि २०६४ सालमा गठन भएको व्यवस्थापन समितिले पुन १० हजार वार्षिक रकम ल्याउने गरेको छ । मन्दिरका अध्यक्ष कायस्थका अनुसार नृत्य पुजा र व्यवस्थापन गर्न साढे तीन लाख खर्च हुन्छ । व्यवस्थापन समितिले चाँदीको सिक्का बराबरको रकम ल्याउन पहल गरिरहेको छ । मन्दिरलाई गत वर्ष गुठी संस्थानले ५ लाख मर्मत सम्भारका लागि दिएको थियो । त्यो रकमले मन्दिर रंगरोगन गरिएको छ । मन्दिरको बार्षिक आम्दानी पुजापाठ बाट करिव ९० हजारसम्म हुने गरेको उहाँको भनाइ छ ।
पुरातत्व सम्पदा राज गूठी अन्तर्गत रहेको यस मन्दिरमा विगतमा पुजारी, परिचर, पुजा पाठ, विशेष पुजा, साथै सन्त अथितीहरुका लागि भोजन, प्रसाद, ब्यवस्थापन सरकारले गर्ने गरेको बताइन्छ ।