टीकापुर, ८ भाद्र/टीकापुर नगरपालिकाले आम कृषक र व्यबसायीका लागि नीति बनाएर आर्थिक प्रगतिको बाटोमा लैजानुको साटो किसानको विरुवाको रकम नदिएको खुलेको छ ।
टीकापुर ७ स्थित श्रेया नर्सरी बाट एक वर्षअघि लिएको फलफूलका बिरुवाको वापतको करिब ४५(५० हजार रुपैयाँ नदिएको नर्सरी सञ्चालक बिसराम चौधरीले जानकारी गराउनुभयो ।
‘‘एक वर्ष अघि नगरपालिकाका लागि एक अटो फलफूलका बिरुवा पठाए तर पैसा अहिलेसम्म पाएन’’,चौधरीले भन्नुभयो , ‘‘अघिल्लो आर्थिक वर्षको पैसा भएकाले नयाँ आर्थिक वर्षमा अल्या भएको होला भनेर बसे, असारसम्ममा पनि भुक्तानी नपाएपछि नगरपालिकाको नियत सफा देखेन ।’’
एक लाखको कार्यक्रम थियो भन्थे पछि के गरे थाहा भएन भन्दै चौधरीले बिरुवाको रकमका बारेमा मेयरलाई भन्दा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । ‘‘पटक पटक धाए, कति जानु आफैलाई लाज लाग्न थाल्यो’’, चौधरीले भन्नुभयो, ‘‘फलफूलका बिरुवा उत्पादन गर्न मेहनत गर्नुपर्छ तर नगरपालिकाले हामी जस्ता किसानको मेहनत लाई महत्व दिएन ।’’
नगरपालिकाले रकम नदिएपछि नर्सरीमा बिरुवा लिन जाने हरेक सामाजिक अगुवासँग चौधरीले दुखेसो गर्ने गरेका छन् । ‘‘हामी बिरुवा लिन गएका थियौँ, धेरै बेर उहाँले नगरपालिका प्रति गुनासो गर्नुभयो’’, महिला नेतृ निर्मला कडायतले भन्नुभयो, ‘‘आफुले भोगेका समस्या र नर्सरीमा गरेको दुखमा रमाएको भए पनि नगरपालिको गरेको व्यबहारप्रति धेरै गुनासो पोख्नु भयो ।’’
स्थानीय सरकारले किसान र व्यबसायीलाई प्रोत्साहन गर्नुको साटो लगेका बिरुवाको रकम नदिनु गलत भएको कडायतले बताउनुभयो ।
उता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिँह चौधरीले बिरुवाको वारेमा जानकारी नभएको बताउनुभयो । ‘‘कसले ल्याएका हो, केही थाहा भएन’’, चौधरीले भन्नुभयो, ‘‘अस्ति पनि मैले आफ्नो घरका लागि बिरुवा उहाँसगै लगेको हुँ केही भन्नुभएन ।’’ उहाँले यस बारेमा बुझ्ने पनि बताउनुभयो ।