नागरिक उन्मुक्ति र टीकापुर

सम्पादकीय
टीकापुर ७ का बिश्राम चौधरी २०७२ सालको घटनामा अनाहकमा तीन बर्ष जेल बिताएर आएका मान्छे हुनु हुन्छ । जेल जानु भन्दा पहिला चौधरीले नर्सरीको व्यबसाय गर्दै आउनुभएको थियो भने केरा खेती पनि थियो । आफु जेल गएपछि घर अस्तव्यस्त भयो । बैङ्क घरजग्गा लिलाम गर्न उद्यत थियो । जेनतेन चौधरीले पुरानै व्यबसाय थाल्नुभएको छ । २०७२ को द्वन्दले चौधरीको जीवन अस्तव्यस्त बनाएपनि मेहनतले गर्दा उहाँको संघर्षले सफलता पाइरहेको छ । थारु समुदायको आन्दोलमा बिश्राम जस्तै कतिपयले अनाहकमा दुख भोग्नु परेको छ । यसरी दुख भोगेको एउटा मान्छे संघर्ष गरेर जीवन निर्बाह गर्दै छ त्यही २०७२ को घटनाको आडमा कोही जनप्रतिनीधि भएका छन् । जनप्रतिनीधिहरु मोज मस्तीमा छन् । हिजो दुख गरेको साथीभाईका बारेमा अहिलेका जनप्रतिनीधिलाई केही वास्ता छैन । यसको प्रमाण बिश्रामको नर्सरीबाट नगरपालिकाले बिरुवा ल्यायो तर पैसा दिएन । मेयरलाई भन्दा पनि सुनुवाई भएन । यो भन्दा घिनलाग्दो कुरा अरु के हुन सक्छ ? के यसैका लागि हो राजनीति ? यो राजनीतिले कुनै समुदाय वा बर्गको हित गर्दैन बरु केही टाठाबाठालाई मात्र फाइदा पुग्ने हो । एकातिर बिद्रोह दिवस मनाउने अर्काेतर्फ बिद्रोह गर्ने जनताको बारेमा नेतृत्वले न्याय नगर्ने हो भनेर राजनीतिका नाममा भजाएर कतिञ्जेल जनतालाई ठग्न सकिन्छ । २०७२ को घटनाबाट जति टीकापुर क्षतबिक्षत भएको छ त्यति अरु क्षेत्रलाई केही भएको छैन । अधिकार माग्नेबेला भएको घटनाका बारेमा नानाथरी कुरा गरेर केही फाइदा छैन । घटनामा जेलबन्दीहरुले के पाए ? केहीले जनप्रतिनीधि हुने अवसर पाए भने धेरैले दुख मात्र पाए । दुख पाएकाहरुले केही पाएनन् । बाठा मान्छे २०७२ को आन्दोलले जन्माएको भावनालाई भजाएर जनप्रतिनीधि भए । यसरी जनप्रतिनीधि भएकाहरु मध्य अधिकांस आफ्नो स्वार्थमा लिप्त छन् । एक अर्काको अस्तित्व स्विकार्न सक्ने अवस्थामा छैनन् भने जनप्रतिनीधिले गर्नुपर्ने काम भन्दा कमाउ धन्दामा लागेका छन् । जातीय आन्दोलनले केहीलाई सुबिधा खाने ठाउँमा त पु¥यायो तर आम भोटरले के पाए ? आम नागरिकले पाउने भनेकै विकास र सद्भाव हो । यो दुबै बिषयमा नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनीधि गम्भिर छैनन् । बाटोमा हिड्दा हिड्दै आन्दोलनको अगुवा रेशम चौधरीको नाम भजाएर निर्बाचन त जिते तर आफ्ना भोटरको भावना बुझ्ने प्रयास गरेको पाइदैन । निर्बाचन भएको दुई बर्ष भयो टीकापुरले केही पाएन । टीकापुर क्षेत्रले जातीका जनप्रतिनीधि त पायो तर विकास पाएन । आन्दोलनबाट टीकापुरले बेहोरेको क्षति बारे ध्यान दिएको पाइदैन । निर्बाचित जनप्रतिनीधिहरुले एउटा मूल एजेण्डा बनाएर यो क्षेत्रको विकासमा लागेको भए २०७२ को आन्दोलनको गरिमा अझ बढ्ने थियो ।