टीकापुर, ११ भाद्र/श्रीकृष्ण जन्माष्टमीको अवसरमा कैलाली को सत्तीस्थित पदम प्रकाशेश्वर महादेव मन्दिरमा कन्या पुजा सहित पूजाआजा गरिएको छ ।
मन्दिरमा ४७ औँ १०८ कन्या पुजा गरिएको हो । कन्या पुजामा १५० बालिका सहभागी थिए । मन्दिर संरक्षण समिति र टीकापुर नगरपालिका को आयोजनामा भएको कार्यक्रममा कन्या पुजासँगै प्रसाद वितरण, पुजाआजा समेत आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुर कायस्थ बताउनुहुन्छ ।
सन्हा गुठी परिवार र मन्दिर संरक्षण समितिको आयोजनामा पदमप्रकाशेश्वर मन्दिरमा २०३४ सालदेखि कन्या पुजा थालिएको बताइन्छ ।
जन्माष्टमीकै अवसरमा टीकापुर स्थित ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र टीकापुरमा सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रममा कृष्ण लिलाबारे जानकारी दिनुका साथै सांस्कृतिक प्रस्तुतीहरु रहेका थिए । कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख भूमिश्वर पोखरेल, टीकापुर १ का वडाध्यक्ष मोहन लुहार विक लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै ब्रह्मकुमारी सीता तिमिल्सिनाले हरेक पर्वमा आध्यात्मिक रहस्य लुकेको बताउँदै आध्यात्मिक महत्व बुझेमा पर्वले समाज परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो ।
यसैगरि राधाकृष्ण मन्दिर, कैलाशेश्वर शिवमन्दिरमा पनि जन्माष्टमी मनाईएको छ ।