टीकापुरमा बिचारको समस्या

सम्पादकीय
टीकापुरको राजनीतिमा समस्या बढ्दै गएको छ । एक अर्काको अस्तित्व स्विकार्न नसक्दा समस्या बढ्दै गएको छ । संघ संस्थामा बढ्दै गएको अराजकता र नेतृत्व लिन होडवाजीका नाममा अर्काको अस्तित्व स्विकार्न नसक्दा एक अर्कालाई सक्ने राजनीतिले आपसमा द्वन्द बढ्दै गएको छ । यहाँको हरेक पार्टीमा समस्या छ । हरेक पार्टीमा अराजकता बढ्दै जाँदा इमान्दार नेता कार्यकर्ता पछि पर्दै गएका छन् । समाजमा स्वच्छ छबि भएकाहरुलाई अवसर नदिने प्रबृत्ति हरेक पार्टीमा पाइन्छ । जसरी पनि आफु हुने सोचले आपसमा द्वन्द बढ्दै गएको छ । अवसर पाएपछि राम्रो प्रदर्शन गर्नु भन्दा मनपरी गर्ने अनी कसैले प्रश्न गरे देख्लास पख्लास भन्ने प्रलचन छ । पार्टी कव्जा गर्नेहरुकै कारण पार्टीमा आन्तरिक द्वन्द बढ्दै गएको छ । यसरी द्वन्द बढ्दै जाँदा आम निर्बाचनमा कांग्रेस , एमाले र माओवादीमा आफ्नै बलबुताले जित्ने अवस्था छैन । यी तीनै पार्टीमा कतिपय कार्यकर्तालाई पार्टीको चिन्हसंग केही लेनादेना छैन । बिचारसंग केही लेनादेना छैन । केवल अराजकता देखाउने र निर्बाचनमा पैसा चाहियो भन्ने प्रबृत्ति हाबी भएको छ । यति मात्र होइन आफ्नै पार्टीको उम्मेदवारलाई भोट हाल्दैनन् । एउटा उम्मेदवार भए अर्काे भोट नहाल्ने, अर्काे उम्मेदवार भए अर्काेले भोट नहाल्ने प्रचलन बढ्दै जाँदा पार्टीमा अन्तरघात गर्नेहरुको संख्या ठूलो भइसक्यो । अन्तरघातीहरुको संख्या बढ्दै जाँदा कोही उम्मेदवार भएपनि निर्बाचन जित्न सजिलो छैन । निर्बाचनमा असहयोग गर्न कारण हुनुपर्ने हो तर यहाँ कारण होइन आफुले नपाएपछि भोट नहाल्ने रोग लागेको छ । यो संस्कारले कहाँ पु¥याउछ ? राम्रो उम्मेदवारको खोजी त टीकापुरमा भएन । राजनीति गर्छु भन्नेले सामाजिक काम गर्ने व्यत्तिको आचरण कस्तो हुनुपर्छ भन्ने बारेमा मतलव छैन । सामाजिक अगुवा आफै उदाहरणिय हुनुपर्छ भन्ने बुझेको भए समस्या हुने थिएन । केवल अरुलाई हुन नदिने राजनीतिले टीकापुरलाई द्वन्दमा फसाएको छ । तसर्थ आम नागरिक सचेत हुनुपर्छ । गलतलाई गलत भन्न सक्नुपर्छ । गलतलाई देखाएर सबै एउटै हुन् भन्ने प्रबृत्ति रोक्न जरुरी छ ।