टीकापुर, २४ पौष/ जानकी ७ मा सञ्चालित भुर्षा सिंचाई योजना जलउपभोक्ता संस्थाको १२ औं साधारणसभा मंगलवार भएको छ ।
संस्थाका अध्यक्ष गोपाल गिरीको सभापतित्वमा भएको साधारणसभामा बोल्ने वक्ताहरुले सिंचाई प्रणालीलाई बलियो बनाउन सबैको सहयोग आवश्यक पर्ने भन्दै किसानले सहज रुपमा पानी पाउनुपर्ने वातावरण बनाउन जरुरी भएको बताए । उनीहरुले तीनै तहका सरकारले सहयोग नगरेको गुनासो गर्दै किसानका बारेमा जनप्रतिनीधि जिम्मेवार हुन आग्रह गरे । सयौं किसानको आर्थिक गतिबिधीसंग गासिएको कुलाका बारेमा राज्यले ध्यान नदिएकै कारण समयमै पानी नपाउने गरेको उनीहरुको गुनासो थियो । जानकी ७ का वडाध्यक्ष कमल बहादुर महतौं को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रानी जमरा कुलरीया मूल कुला समितिका उपाध्यक्ष कृतबहादुर रोकाय, सचिब परशुराम महतौं, रानी जमरा कुलरीया सिंचाई आयोजनाका समाजसास्त्री कृष्ण उप्रेती, सिंचाई महासंघका पूर्ब अध्यक्ष दामोदर खड्का, नेपाली कांग्रेसका वडासभापति डबल बहादुर बलायर, भुर्षा कुलाका पूर्ब अध्यक्ष भागिराम चौधरी, समाजसेवी पदम गिरी र बीर बहादुर केशी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष भिख्खु थारुले गर्नुभएको थियो भने सञ्चालन सचिब गुर्णदास चौधरी ले गर्नुभएको थियो । साधारण सभामा करिब तीन लाख बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।
५ हजार उपभोक्ता भएको उक्त संस्थाको भवन अभाव छ भने लाइनिङको माग पूरा गर्न किसान ले पटक पटक बिभिन्न तहका सरकारमा धाएको अध्यक्ष गिरी ले गुनासो गर्नुभयो । ४ सय ८५ हेक्टर क्षेत्रफल जग्गामा उक्त कुलाबाट सिंचाई हुने गरेको छ ।