टीकापुर, १६ फागुन/टीकापुरको एकतानगर बस्तीमा लैंगिक हिसा विरुद्ध समुदायमा सचेतना मुलक अभिमुखिकरण कार्यक्रम भएको छ ।
‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ लैंगिक हिसा विरुद्ध समुदायमा सचेतना मुलक अभिमुखिकरण कार्यक्रम भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना धनगढीको आयोजना तथा इलाका प्रहरी कार्यालय टीकापुरको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख नविनराजा बुढाथोकीले हिँसाका घटना हुन नदिन सबै सचेत हुनुपर्ने बताउनुभयो । समाजमा घरेलु हिंसाका घटना बढी भइरहेका बताउँदै हिंसा न्यूनिकरण का लागि शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले हिंसा गर्ने तथा अपराध गर्नेलाई कानूनले छुटनदिने भएकाले सबै सचेत हुनुपर्ने बताउनु भयो ।
लैंगिक हिंसा तथा महिलामाथि हुने हिंसा न्यूनिकरणमा प्रहरीको छुट्टै भवन बनिरहेको बताउँदै अबको १ वर्षभित्रमा महिला सेलले दिने सेवा छुट्टै भवनबाट पाइने बताउनुभयो ।
बस्ती सुरक्षा समितिका संयोजक कृष्ण परियारको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजनाका लैङ्िगक हिसा प्रतिकार्य विज्ञ मेनुका बस्नेतले बालविवाहले समाजमा समस्या र हिंसा बढाएकाले अभिभावक सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीले भोलिका दिन सुखद बनाउन आजका छोरीहरु लाई शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सरस्वती सुनारले गरिवीका कारण आफूले १४ वर्षमा बालविवाह गरेको, १५ वर्षमा बच्चा पाएको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा स्थानीय नन्दादेवी विकले बस्तीमा बसेका एकल, सहारा नभएका महिलालाई अझ बढी समस्या रहेका बताउनुभयो ।
कार्यक्रममा पत्रकार दुर्गा देवकोटा लगायतले बोल्नुभएको थियो ।