कर्णाली नदीमा सञ्चालित मोटर बोट प्रति यात्री एक सय रुपिया“ बढी असूल गर्दै

टीकापुर, १८ चैत्र/कर्णाली नदीमा सञ्चालनमा आएको मोटर बोटले यात्रीहरु तोकिएको भन्दा बढी भाडा असूल गरिरहेको छ ।
श्री स्काइ वर्ड एड्भेन्चर स्पोट्स प्रालिले कर्णाली नदीमा सञ्चालन मा आएको मोटर बोटबाट प्रतियात्रु १५० रुपैया लिनुपर्नेमा प्रतियात्रु २५० शुल्क उठाउने गरेको छ । नगरपालिकाको आर्थिक ऐनमा मोटरबोट तथा ¥याफ्टिङ सञ्चालन गर्दा प्रति व्यक्ति १५० रुपियाँ भाडा तय भएको छ ।
२०८१ साल मंसीर २८ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याएको कम्पनीले जेट स्कीले लिने दरमा मोटर बोटको भाडा लिने गरेको छ ।
पालिकाले प्रालिलाई मोटर बोटको मूल्यसूचि अनिवार्य राख्न, काउण्टर स्थापनामा लागि अनुमति लिन भनेको भए पनि प्रालिले मनपरी तरिकाले चलाएको छ । स्काइ वर्डका योगेश शाहले १० वर्ष मूनिकालागि १५० रुपिया र वयस्कलाई २५० रुपियाँ लिने गरेको बताउनुभयो ।


चितवनबाट पार्क घुम्न आउनु भएकी सविता पोखरेलले मोटरबोटमा रमाइलो भए पनि शुल्क महंगो भएको बताउनुभयो । मोटरबोटमा चढेर फर्किएका अर्का यात्रु बन्दना जैसीले पालिकासँगको सम्झौताभन्दा बढी शुल्क लिनु गलत भएको, आफू सहित ९ जना आफ्ना साथी समेत लुटिएको बताउनुभयो ।
टीकापुर नगरपालिकाले कर्णाली नदीको पश्चिम तटीय क्षेत्रमा मोटरजडित डुंगा तथा जेटस्की जस्ता साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन का लागि प्रारम्भिक वातावरण परीक्षण गरी पर्यटन मन्त्रालय बाट स्वीकृति गराएर स्काइ वर्ड लाई ठेक्का लगाएको छ ।
मोटरबोट सञ्चालन वाफत स्काइ वर्ड एड्भेन्चर स्पोट्स प्रालि ले नगरपालिकालाई दैनिक १ हजार ५ सय राजश्व तिर्ने गरेको छ । यात्रीबाट सम्झौता भन्दा बढी रकम असूली गरेपनि टीकापुर नगरपालिकाले कुनै चासो दिएको छैन् ।
उपभोक्ता हीत संरक्षण मञ्च टीकापुरका सचिव शेरबहादुर विष्ट जुनसुकै ठेक्का गर्दा दररेट तोकिएको हुने भएकाले सम्झौता भन्दा बढी रकम लिन नपाइने, यसमा पालिकाले नियन्त्रण गर्नुपर्ने र उपभोक्ता पनि सचेत हुनुपर्ने बताउनुभयो ।